आइतबार, चैत २९, २०८२

चैत अन्तिम साता टीकापुरमा साहित्य महोत्सव हुने

मेरोन्यूज २०७९ चैत ५ गते ८:०२

टीकापुर । टीकापुर साहित्य समाजको आयोजनामा आगामी चैत २५ देखि २७ सम्म टीकापुरमा साहित्य महोत्सव हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

समाजले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कैलालीको टीकापुरमा नेपाली तथा स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, शिक्षा, अर्थ र राजनीतिजस्ता समाज विकासका विभिन्न पक्षहरूमाथि सिर्जनात्मक छलफल गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

समाजका अध्यक्ष साहित्यकार महेशविक्रम शाहका अनुसार महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, पुरातत्व, सम्पदा र सामाजिक विकासका समग्र पक्षबारे हरेक दिन सातवटा गरी महोत्सव अवधिभर २१ वटा सत्रहरू सञ्चालन हुनेछन् ।

महोत्सवको पहिलो दिन लेखक सीके लालले ‘साहित्यमार्फत सामाजिक सद्भाव’ शीर्षकमाथि विद्वत प्रवचन दिनेछन् । उक्त कार्यक्रममा साहित्य, कला, संस्कृति, राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास–निर्माण, दर्शन, इतिहास, पत्रकारिता र सामाजिक क्षेत्रका ७५ जना वक्ता रहनेछन् । महोत्सवका तीनै दिन गजलसन्ध्या, काव्यसन्ध्या, सङ्गीतसन्ध्या सञ्चालन गरिने पनि आयोजकले जनाएका छन् ।

समाजले महोत्सवका अवसरमा शिक्षा , भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकहरूलाई सम्मान, पुरस्कार र अभिनन्दन गरिने जनाएको छ ।

जसअनुसार समाजले वार्षिक रूपमा एक लाख रूपैयाँ राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, ५० हजार राशीको टीकापुर साहित्य समाज श्रेष्ठ कृति पुररस्कार, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) र २५ हजार राशीको टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार (टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई) प्रदान गर्नेछ ।

महोत्सवले टीकापुरलाई साहित्य, कला र सांस्कृतिक जागरणतर्फ अभिमुख प्रदेशको महत्त्वपूर्ण सहरका रूपमा पहिचान दिलाउने उद्देश्य राखेको संयोजक शाहले जानकारी दिए ।

त्यस्तै प्रदेशका विभिन्न मौलिक सांस्कृतिक परम्पराका रूपमा स्थापित लोककथा, लोकनाच र लोक गीतहरूलाई उजागर गरी राष्ट्रिय परिचय दिलाउने, यस क्षेत्रका प्राचीन प्रथा, परम्परा, मूल्यमान्यता, संस्कार र संस्कृति जस्ता सांस्कृतिक सम्पदाको महत्त्व स्थापित गरी राष्ट्रव्यापी रूपमा प्रचारप्रसार गर्ने जस्ता उद्देश्य राखिएको उनले बताए ।

प्रतिक्रिया