मंगलबार, चैत २४, २०८२

१२ पालिकामा १६ करोड बढी बजेट कटौती

मेरोन्यूज २०८० असार ८ गते १४:०४

गुल्मी । गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा रु १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा रु एक करोड ६३ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै मुसिकोट नगरपालिकामा रु एक करोड ५९ लाख ५० हजार बजेट कटौती गरिएको छ । गाउँपालिकामध्ये इस्मामा रु एक करोड २६ लाख ५० हजार, गुल्मी दरबारमा रु एक करोड ३३ लाख २५ हजार, कालीगण्डकीमा रु एक करोड १९ लाख ७५ हजार, चन्द्रकोटमा रु एक करोड ३२ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको छ ।

त्यसैगरी छत्रकोटमा रु एक करोड ३१ लाख २५ हजार, धुर्कोटमा रु एक करोड ३३ लाख ७५ हजार, मदानेमा रु एक करोड २९ लाख ८७ हजार, मालिकामा रु एक करोड २८ लाख ७५ हजार, सत्यवतीमा रु एक करोड ३६ लाख ६२ हजार पाँच सय र रुरुक्षेत्रमा रु एक करोड २१ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक बेल्वासेले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सङ्घीय सरकारले बजेट कटौती गर्दा कार्यसम्पादनमा समस्या परेको बताए । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बजेट कटौतीले सम्झौता गरिएका योजना समयमै भुक्तान दिन नपाएको गुनासो गरे । “बजेट आउँछ भनेर योजना सम्झौता भयो, योजना कार्यान्वयन पनि भए तर बजेट नआउने भयो”, उनले भने, “त्यस्ता योजनाहरुको भुक्तानी आगामी आर्थिक बर्षमा दिन्छौ ।”

प्रतिक्रिया