आइतबार, वैशाख १४, २०८२

कोशीमा सरकार गठन अझै उल्झनमा

३५ वर्ष आफैंले हुर्काएको कांग्रेसलाई राप्रपाका भक्तिले देलान् साथ ?

मेरोन्यूज २०८० असार १९ गते २१:४६

विराटनगर । पालो पर्खन सक्नुपर्छ, राजनीतिमा अवसर आउँछ र पैचो तिर्न पनि पाइन्छ भन्ने चर्चा बेला बेला हुने गर्छ । कोशी प्रदेशमा अहिले ठ्याक्कै यही मेसो मिलेको छ ।

यसका लागि निर्णायक बनेका छन्, राप्रपा प्रदेश संसदीय दलका नेता तथा कोशी सरकारका कामचलाउ उद्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला ।
कोशीको नयाँ सरकार निर्माणका लागि प्रदेश प्रमुखले बिहिबार साँझ ५ बजे सम्मका लागि समय दिएका छन् । यो अवधीसम्म सरकार बनाउन चाहनेले बहुमतसिद्ध गरेर दावी पेश गर्नुपर्ने हुन्छ । तर प्रदेश सभाको अंकगणित यस्तो छ की, राप्रपाको साथ बिना सरकार निर्माण हुने सम्भावना अहिले कम देखिदै गएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायत केन्द्र देखि अन्य ६ वटा प्रदेशसम्मको सत्ता गठबन्धनले कोशीमा पनि गठबन्धनकै सरकार निर्माणको पहल लिने निर्णय लिएको छ । त्यसका लागि कांग्रेसका प्रदेश सभा दल नेता उद्दव थापालाई मुख्यमन्त्रीमा अगाडी बढाउने निर्णय लिएको छ ।

तर थापालाई राप्रपाको साथ बिना सितिमिति सरकारको नेतृत्व आइलाग्ने सम्भावना सहज भने छैन । राप्रपा यहाँ निर्णायक छ । त्यसैका दल नेता छन्, अहिले कामचलाउ सरकारका उद्योग कृर्षि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला ।

सिटौला त्यही नेता हुन्, जसले कांग्रेस रुदै रुदै छोडेका थिए । कांग्रेसमा ३५ वर्ष राजनीति गरेका भक्ति सिटौला २०७० सालको दोस्रो संविधानसभामा मात्र कांग्रेस छोडेर राप्रपामा पुगेका थिए । राप्रपामा पुग्न उनलाई बाध्य पार्नेमा थिए कृष्णप्रसाद सिटौला र अहिले मुख्यमन्त्री प्रस्तावित भएका उद्दव थापा ।

राप्रपामा रहेका भक्ति सिटौलाले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा झापा २ बाट चुनाव लड्न चाहेका थिए । तर कांग्रेसको केन्द्रीय राजनीतिमा निर्णायक मानिएका कृष्ण सिटौलाले उनलाई ढिम्कन दिएनन । अन्य केन्द्रीय नेताले टिकटको बचन दिएपनि सिटौलाले उद्दव थापालाई टिकट दिए, तर भक्तिलाई दिएनन ।
३५ वर्षसम्म कांग्रेसको राजनीति गरेका र नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री देखि झापा कांग्रेसको जिल्ला सभापतिमा समेत चुनावी प्रतिस्पर्धा गरेका भक्तिलाई कृष्णप्रसाद सिटौला र उद्दव थापाले झापामा निरन्तर पाखा लगाउँदै गए ।

अन्य नेताले टिकटमा बचन दिँदा नातामा आफ्नै भतिज पर्ने कृष्ण सिटौलाले उनलाई टिकट दिएनन । भक्तिलाई कृष्ण सिटौलाले काका भन्ने गर्छन् । पारिवारिक जमघटमा सिटौलाले भक्तिको हातमा टाउको राखेर ढोग्ने समेत गर्छन् । तर राजनीतिमा यी दुई सिटौलाको कहिल्यै कुरा मिलेन ।
त्यसपछि २०७० मा भक्तिले कांग्रेस रुदै छोडेका थिए । त्यसपछि दोस्रो संविधानसभा चुनावमा उनले झापा २ बाट राप्रपाबाट उम्मेदवारी दिए । जहाँ अहिले मुख्यमन्त्रीमा सत्ता गठबन्धनले अगाडी सारेका उद्दवसँग भक्तिले प्रतिस्पर्धा गरेका थिए ।

मेरो राजनीतिक जीवन नै समाप्त पार्ने षड्यन्त्र सहेर अब कांग्रेसका बस्न नसक्ने भएपछि म राप्रपातिर लागें’, सिटौलाले त्यसवेला आफ्ना साथीहरूलाई भनेका थिए, मेरो बाध्यता तपाईंहरूलाई थाहै छ। मलाई क्षमा गरिदिनुहोला।’ राप्रपाबाट दोस्रो संविधानसभामा झापा २ मा उम्मेदवारी दर्ता गरेपछि भक्तिले रुँदै भनेका थिए ।

उक्त चुनवामा भक्तिले जित्न सकेनन । न उद्दवले नै जिते ।
त्यसपछि अलग्गिएको उनीहरुको बाटो अहिलेसम्म फरक नै छ । तर अहिले सिटौलाका निकट उद्दव थापालाई कोशीमा मुख्यमन्त्री बनाउन भक्ति निर्णायक देखिएका छन् । इख तिर्ने वा देखाईदिने हो भने अहिले भक्तिलाई खवसर आएको छ । तर राजनीतिमा सधै इख लिने र शत्रुता साध्ने मात्र काम हुँदैन ।

भक्ति गत प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा झापा ४ को प्रदेश सभा २ काट राप्रपाबाट चुनाव जिते । उनी राप्रपाको प्रदेश सभा दल नेता समेत छन् । उनको पार्टीको ६ सिट प्रदेश सभामा छ । कांग्रेसका उद्दवलाई आफनो नेतृत्वमा सरकार निर्माणका लागि अहिले तिनै भक्तिको बलियो साथ चाहिएको छ ।

तर भक्ति मौन छन् । राप्रपाका नेताहरु कोशी प्रदेश सरकारमा के गर्ने ? कसलाई सघाउने भन्नेमा अहिलेसम्म मौन बसेका छन् ।
रोचक त यतिसम्म छ की कृष्ण सिटौला र उद्दव थापाले झापामा खेदेका भक्ति त्यहाँ प्रदेश सभामा राप्रपाको दलको नेतृत्व गरेर निर्णायक पोजिसनमा बसेका छन् । यता केन्द्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग जहिल्यै चुनावी प्रतिस्पर्धी बनिरहेका कृष्ण सिटौलाका निकट उद्दव थापा मुख्यमन्त्रीका आकांक्षी छन् ।

राजेन्द्र र भक्ति दाहिना नहुँदासम्म कृष्ण सिटौला निकटका उद्दवको भाग्य चम्कने कुनै छेकछन्द छैन ।
केन्द्रमा सत्ता गठबन्धनले उद्दव लाई मुख्यमन्त्रीमा अगाडी सार्ने वित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनसँग सोमबार साँझ कोशी प्रदेशको सरकार निर्माणमा सहकार्यको प्रस्ताव गदै टेलिफोन गरेका थिए ।

तर लिङदेन देउवासँगको टेलिफोन सम्वादमा पनि मौन बसे । लिङदेन र भक्तिलाई मनाउन अहिले देउवाले शेखर कोइराला, गगन थापा र मिनेन्द्र रिजाललाई परिचालन गरेका छन् । त्यसको नतिजा के आउँछ अहिले भन्न सकिने अवस्था छैन ।

गठबन्धनभित्रै पनि राप्रपाले उद्दवलाई होइन, आफुहरुलाई मुख्यमन्त्री प्रस्ताव गरे सघाउने शर्त राखिदिए क्या गज्जव हुन्थ्यो भन्नेमा माओवादी केन्द्रका इन्द्र आङबो देखि कांग्रेसकै अन्य कतिपय नेताहरुसम्म पनि छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतको लागि ४७ सिट आवश्यक पर्छ। कांग्रेससहितको गठबन्धनमा उसको २९, माओवादीको १३ ९सभामुखसहित०, एकीकृत समाजवादीको ४ र जसपाको १ सहित ४७ सिट छ। तर, सभामुख सरकार निर्माणको प्रक्रियामा गणना गर्न नमिल्ने एमालेको दाबी छ। संविधानविद्हरूले पनि त्यही भनिरहेका छन्। यदि सभामुखको संख्या गणना गरेर सरकार निर्माण भए पनि विश्वासको मत लिने बेलामा सदनमा बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मत दिन नपाउने संवैधानिक प्रावधान छ।

यस्तो अवस्थामा ६ सिट भएको राप्रपालाई नयाँ सरकार बनाउनका लागि साथ लिन अनिवार्य छ। हाल ४० सिट भएको एमालेको साथमा रहेको राप्रपालाई साथ नलिए मुख्यमन्त्रीमा प्रस्तावित कांग्रेस नेता थापाको सत्तायात्रा सुरू नै नहुने जोखिम उच्च छ।

राप्रपाले एमालेलाई नै साथ दिईरहेपनि यो गठबन्धनमा अर्काे एउटा सांसद फकाउनु पर्ने बाध्यता छ । यही फकाउन नसक्दा विश्वासको मत लिन नसकी हिक्मत कार्की सरकारबाट बाहिरिनु परेको छ ।

दुवै पक्ष अडानमा रहने, नयाँ समिकरण निर्माण नहुने र अहिलेकै गठबन्धन कायम रहने, राप्रपा सत्ता गठबन्धनतिर नसर्ने हो भने कोशीमा मध्यावधि चुनाव नहोला भन्न पनि सकिन्न ।

प्रतिक्रिया