शुक्रबार, फागुन ८, २०८२

नियम बनाउँदै, आफैं भत्काउँदै

प्रधानमन्त्री प्रचण्ड सुशासनका पक्षमा जति कट्टर देखिएका छन्, उत्तिनै आफ्नै पार्टी नियम कार्यान्वयनमा भने कमजोर बनिरहेका छन्

शितल शर्मा २०८० साउन १५ गते २०:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सुशासनका पक्षमा जति कट्टर देखिएका छन्, उत्तिनै आफ्नै पार्टी नियममा भने कमजोर । केपी ओली, शेरबहादुर देउवा भन्दा पृथक बन्दै सिंहदरवारबाटै देशको बागडोर सम्हाल्न थालेका प्रधानमन्त्री प्रचण्डले आफु र पार्टीका मन्त्रीलाई कडा नियममा बाध्ने नीति त बनाए तर, कार्यान्वयन असाध्यै फितलो बनेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र सिंहदरवारस्थित पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयमा पार्टी नेता– कार्यकर्ताले भरिभराउ हुँदा र पार्टीभित्रैबाट घेरिँदा प्रभावकारी काम गर्न नसक्ने ठहर गदैं माओवादीले नेता– कार्यकर्तालाई सर्वदलीय वा सर्वपक्षिय डेलिगेसनका अपवाद वाहेक सिंहदरवार र बालुवाटार भेटघाटमा रोक लगाउन प्रधानमन्त्री तथा मन्त्री र राजकीय पदाधिकारीको कार्य ब्यवस्थापन योजना २०७९ बनाएको थियो । प्रधानमन्त्री प्रचण्ड आफैले गत चैत २७ गते हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याउन पार्टी पंक्तिमा यस्तो कार्ययोजना आन्तरिक रुपमा सर्कुलर गराएका थिए ।


जसमा, प्रधानमन्त्री प्रचण्डले हरेक शनिबार पार्टीका सबै प्रदेशका केन्द्र र प्रदेशका एक एक जना नेतासँग टेलिफोन वार्ता गर्नेसम्मको कार्यतालिका बनेको थियो । प्रधानमन्त्रीले प्रत्येक शनिबार २ घण्टा केन्द्र र प्रत्येक प्रदेशका एक एक जना पार्टी नेतालाई आफैले टेलिफोन गर्ने, प्रधानमन्त्रीले प्रत्येक महिनाको अन्तिम शनिवार बिहान ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना समेत खाने गरी अन्तरक्रियात्मक भेटघाट गर्ने जस्ता कार्यतालिका बनाइएको थियो ।

त्यस्तो टोलीमा सहिद तथा वेपत्ता परिवार, जनमुक्ति सेना एवम घाइते अपांग नछुटने गरी सबै जिल्लाबाट १ जनाका दरले पार्टी प्रतिनिधि समावेश गर्नेगरी ब्यवस्थापन मिलाउन पार्टी कमिटिलाई आन्तरिक सर्कुलर माओवादीले गरेको थियो ।

तर ती कार्ययोजना अहिले अलपत्र परेको छ । न प्रधानमन्त्रीले दलको कार्यलयमा पुगेर पार्टीका सांसदहरुसँग अहिले सम्वाद र अन्र्तक्रिया गरेका छन्, न प्रत्येक शनिबार २ घण्टा केन्द्र र प्रत्येक प्रदेशका एक एक जना पार्टी नेतालाई आफैले टेलिफोन गरेका छन् ।
‘कार्ययोजना र कार्यतालिका त बन्यो, तर त्यो पूरै अलपत्र परेको छ,’ माओवादीका एक नेताले मेरोन्यूजसँग भने । बैशाखको अन्तिमबाट नै बनाइएको कार्ययोजना कार्यान्वयनमा लैजाने बताईएको थियो । कार्ययोजनामा प्रधानमन्त्रीले सिंहदरवारमै प्रत्येक दिन ३० मिनेट एक- एक मन्त्रालयका मन्त्री र सचिवसँग कार्यप्रगति विवरण सम्वन्धमा संवाद गर्ने, सिंहदरवारस्थित मन्त्रिपरिषद्को कार्यालयमा काम सम्पन्न भएपछि मात्र बचेको समयमा थप भेटघाट गर्ने, सरकारका मन्त्रीलाई पनि प्रत्येक दिन १० देखि १ बजेसम्म मन्त्रालयको काममा केन्द्रीत हुन निर्देशन दिने लगायतका काम गर्ने कार्ययोजनामा थियो ।

सिंहदरवारमा उनले प्रत्यके दिन आधा घण्टा एक एक मन्त्रालयका मन्त्री र सचिवसाग भने कार्यप्रगति विवरणमा केन्द्रीत रहेर सम्वादलाई भने समयले मिल्दासम्म ब्यवस्थापन गरेर निरन्तरता दिईरहेका छन् । अन्य कार्ययोजना भने प्रधानमन्त्रीकै अलपत्र छ । प्रधानमन्त्रीकै कार्ययोजना अलपत्र परेपछि अन्य मन्त्रीहरुको पनि अस्तब्यस्त नै छ, माओवादीका एक सांसदले भने ।

कार्ययोजनामा प्रधानमन्त्री र मन्त्रीहरुले विशिष्ट अवस्थाबाहेक निवासमा बेलुकी ८ बजेपछि भेटघाट नगर्ने सम्मको नियम कार्यब्यवस्थापन योजनामा उल्लेख थियो । त्यस्तै, बालुवाटारमा प्रत्येक शनिबार बेलुका २ घण्टा प्रधानमन्त्रीले सचिवालयको मुख्य टीमसँग समीक्षात्मक छलफल गर्ने, आफै भेट्न आउने भन्दा बोलाएर गर्ने भेटघाटलाई प्राथमिकता दिने, प्रधानमन्त्रीसँग सर्वसाधारण जनताको भेटघाटका लागि उचित प्रवन्ध मिलाउने जस्ता काम सचिवालयले गर्नुपर्ने माओवादीले बनाएको कार्यब्यवस्थापन योजना बनाएको थियो ।

तर आफैले बनाएको नियममा प्रधानमन्त्री नै फुक्काफाल बनेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सल्लाहकारले भने पटक पटक विपक्षीले संसदमा पुराएको अवरोध, प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, प्रधानमन्त्रीको भारत र इटालीको भ्रमण लगायतका कारण कार्ययोजना प्रभावित बनेपनि प्रधानमन्त्री कार्ययोजनाप्रति प्रतिबद्ध नै रहेको बताए ।


‘प्रधानमन्त्रीको भारत भ्रमण, इटाली भ्रमण, जीवनसंगीनी सीता दाहालको निधन, प्रमुख प्रतिपक्षीले बेला बेला संसदमा देखाएको अवरोध लगायतका राजनीतिक कारण पनि कार्ययोजना कार्यान्वयनमा केही समस्या देखा परेको छ’, प्रधानमन्त्रीका ती सल्लाहकारले भने, ‘अव नियमित प्रक्रियामा प्रधानमन्त्रीले कार्ययोजना कार्यन्वयन गरेर जानुहुनेछ ।’

तर प्रचण्डको पार्टी सञ्चालनको तरिका हेर्ने हो भने नियम बन्ने तर, त्यसको कार्यान्वयनको पक्ष फितलो बन्दै जान थालेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया