माओवादी बैठकमा पार्टी संगठनको प्रभावकारिता र सरकारका कामबारे नेतृत्वको आलोचना
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा सदस्यहरूले पार्टी संगठन र सरकारका कामबारे नेतृत्वको आलोचना गरेका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने सदस्यहरूले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा नेतृत्वको आलोचना गरेका हुन् ।
अध्यक्ष दाहालको प्रतिवेदनमाथि १८ नेताले धारणा राखेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा पार्टीलाई नयाँ जीवन दिने, संगठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले संगठनात्मक संरचना, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउनेसहितका विषय समेटेर प्रस्ताव राखेका थिए ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका कार्यबाहक इन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई नयाँ सामन्तवादको किल्ला बनेको आरोप लगाए । ‘बालुवाटार नयाँ सामन्तवादको किल्ला बन्यो । राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत भएको छ,’ उनले धारणा राख्नेक्रममा भने ।
पन्तले सरकारमा रहेका नेताहरूलाई गोप्य तवरले ‘डिल’ गर्न सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘दाहालको निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र होइन’, उनले भने, ‘यसै बैठकले नेताहरूका परिवारका सदस्यलाई निजी वा स्वकीय सचिवमा नराख्ने निर्णय गर्न म बैठक समक्ष माग गर्दछु ।’
उनले कर्मचारीमा नायब सुब्बाको सरुवामा पनि अध्यक्षका परिवारका सदस्यहरूको रुचि रहने गरेको आरोप समेत लगाए ।
बैठकमा नेताहरुले भ्रष्टाचारको विषयमा प्रश्न उठाएका छन् । पार्टी अध्यक्ष दाहालनेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा छानबिनको क्रममा सुई जता गए पनि छाड्न नहुने नेताहरुले बताएका छन् ।
आजको बैठकमा अध्यक्ष दाहालको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको सुरुमा अध्यक्ष दाहालले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राखेका थिए । सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका थिए । उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रूपान्तरणमा गर्नुपर्ने बताएका थिए ।
दाहालले प्रतिवेदन पेस गरेपछि महासचिव देवप्रसाद गुरुङले बैठक कार्यसूचीमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले बैठकको ‘एजेण्डा’ प्रस्तुत गरेका थिए । महासचिवले पेस गरेको एजेण्डा पास भएसँगै बैठक औपचारिकरूपमा छलफलमा प्रवेश गरेको थियो ।
बैठकमा अध्यक्ष दाहालले विधान संशोधनको प्रस्ताव पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्षद्वारा विधान संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । माओवादीले केन्द्रीय समिति समावेशी नभएको स्वीकार गर्दै विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेको छ ।
केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको उनले जानकारी दिए । प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ । अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ ।
माओवादीको केन्द्रीय समिति बैठक २०७९ असार १९ देखि २५ सम्म बसेपछि बल्ल बसेको हो । बैठकमा अध्यक्ष दाहालले देशको राजनीतिक समीकरण र राजनीतिक उतारचढाव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको स्वीकार गरेका थिए ।
माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोध गरेपछि त्यसमा पुनःविचार गरेको थियो । बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।

















निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
चितवनमा दुई अस्थायी मतदान केन्द्र
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया