शुक्रबार, फागुन ८, २०८२

प्रचण्ड र नारायणकाजी ७-७ वडामा पार्टी अभियानको नेतृत्व लिएर जाने

मेरोन्यूज २०८० साउन २१ गते १४:५०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी भदौंदेखि तीन महिने जनतासँग पार्टी अभियान चलाउदा पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबैलाई वडामा आधारित भएर परिचालन गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

माओवादीले अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई समेत सात प्रदेशको सात वडामा नेतृत्व गर्ने गरि नै पार्टी अभियानमा पठाउने भएको छ । यो सम्वन्धी प्रस्ताव अहिले प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा पेस गरिरहेका छन् ।

‘अध्यक्ष , प्रधानमन्त्री भए पनि म ७ वटा वडाको जिम्मा म लिन्छु । सात प्रदेशको सात वटा वडामा जान्छु । पार्टी, सहीद परिवार सवैको हिसाव किताव गर्ने गरी म आफै जान्छु । वरिष्ठ उपाध्यक्ष उपप्रधानमन्त्री गृहमन्त्री भए पनि ७ वटा वडामा जानुहुन्छ,’ अध्यक्ष प्रचण्डले अभियानको प्रस्ताव राख्दै भने ।

उनले विगतमा जिम्मा लिएका नेताहरुको कार्यविभाजन सम्पूर्ण रुपमा हेरफेर गर्ने प्रस्ताव पनि बैठकमा गरेका छन् । विगतमा प्रदेशका जिम्मा लिएका नेतालाई अलग प्रदेशमा, विगतमा फ्याक्सन इन्चार्जको जिम्मा लिएका नेताहरुलाई फरक जिम्मामा पठाउने र सवैलाई जनतासँग जोडने गरी अभियान चलाउन लागेको प्रचण्डले बताए ।

उनले विगतको दुई महिने अभियान जस्तो नभई यो तीन महिने अभियानमा सवै सक्रिय भएर लाग्ने र सफल हुने बताए ।

‘दुई महिना असफल तीन महिना पनि असफल हुन्छ भनेर उठाएका तर्कबारे अव म केही कुरा राख्छु । दुई महिना काम चलाउ गरौं, केही न केही फालौं, दिनुप¥यो भनेर त्यहाँ त्यस्तो तयारी पनि लिडरसिपमा थिएन । दिउ काम भनेर दिइएको थियो । त्यसकारण त्यसको फलोअप गर्न पनि गइएन नी । गर्नेले गरेकै छ, नगर्नेले नगरेकै छ । त्यसका लागि आत्मआलोचना गर्न परे म गर्न तयार छु,’ प्रचण्डले भने, तर अहिले त्यस्तो होइन । तपाईहरुले गरेको छलफल र मैले भने अनुसार यो पटकको अभियान त्यस्तो होइन । हामी ठोस ठोस कार्यक्रमसहित लाग्छौं । तपाईहरु भन्दा पहिला अब हामी जान्छौं ।

प्रतिक्रिया