पहिचान झल्काउने देउसी

झापा । तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रूपमा सदुपयोग गर्न थालेका छन् ।
लोपोन्मूख समुदायमा सूचीकृत मेचे जातिको बाहुल्य रहेको मेचीनगरमा हालै ‘मेचे सामुदायिक घरबास समिति’ गठन भएको थियो । समितिले तिहारकै अवसरमा ‘घरबास कार्यक्रम’लाई समुदायमा चिनाउन देउसीभैली खेलिरहेको समितिकी अध्यक्ष अग्निमाया मेचेले बताए ।
मेचेको जातीय पहिरनमा सजिएका युवायुवतीले आफ्नै बाजा र भाषामा झापाको धुलाबारी, इटाभट्टा, बाहुनडाँगी, काँकडभिट्टा, जलथल, विर्तामोडलगायत स्थानमा यसपाली सांस्कृतिक देउसीभैली खेलेको उनले जानकारी दिए ।
“खासमा हाम्रो आफ्नै चाडपर्व र परम्पराहरू छन्, तथापि तिहारमा सिङ्गो देश नै उल्लासमय हुने भएकाले हामीले समुदायको संस्कृति झल्काउँदै देउसी नाच निकालेका छौँ,” आदिवासी जनजाति समुदायकी अगुवासमेत रहेकी उनले भनिन्, “मेचे जातिको होमस्टे (घरबास) गठन गरेको हुँदा त्यसकै प्रचार घरघर पुर्याउँदैछौँ ।”
देउसी खेल्दा दक्षिणालाई प्राथमिकता नदिएको तर सङ्कलन हुने रकमलाई समुदायको घरबास कार्यक्रममा सदुपयोग गरिने उनले बताए । मेचे समुदायको आकर्षक पहिरन र भाषाका गीतमा नृत्यहरूसमेत देखाउँदा देउसी हेर्नेहरू रमाउने गरेका छन् ।
मेचे समुदायको बसोबास झापामा मात्र रहेको छ । सरकारले उनीहरूलाई लोपोन्मूख सूचीमा सूचीकृत गरेर निर्वाहका लागि मासिकरूपमा सामाजिक सुरक्षा भत्तासमेत प्रदान गर्दै आएको छ ।
विसं २०७८ को जनगणना अनुसार मेचे जातिको जनसङ्ख्या पाँच हजार एक सय ९३ रहेको छ । त्यसअघि विसंं २०६८ मा पाँच हजार दुई सय, विसं २०५८ मा तीन हजार सात सय ६३ जनसङ्ख्या रहेको थियो ।
झापा र मोरङमा बसोबास गर्दै आएका आदिबासी जातिमध्ये सन्थालको नृत्यलाई दसैं र तिहार पर्वको अभिन्न परम्परा नै मान्न थालिएको छ । विसं २०७८ को जनगणनाले उनीहरूको जनसङ्ख्या ५७ हजार तीन सय १० रहेको जनाएको छ ।
बाजाको धुनसँग हात, खुट्टा र टाउकाको चाल मिलाएर सिठ्ठी फुकीफुकी सन्थाल युवायुवती नाचेको दृश्य रोचक हुन्छ । शिरमा मयुरको प्वाख सिउरिने र हातखुट्टामा झुम्का बजाउने फरक शैली भएको सन्थाल नृत्य दसैं र तिहारमा देख्न पाइन्छ ।
नेपाल सन्थाल विकास सङ्घका सदस्य चन्दन टुडु मौलिक चाडपर्व र सामाजिक कार्यक्रममा सन्थाल नृत्यलाई महत्त्व दिइने गरे पनि उनीहरूको आर्थिक, सामाजिक र शैक्षिक विकासका लागि तीनै तहको सरकारले भरपर्दो सहयोग नपुर्याएको गुनासो सुनाए ।
सन्थालहरू आर्थिकरूपले विपन्न भएकाले उनीहरूले चाडपर्वमा नाचगानलाई थोरै भए पनि आर्थिक जोहो गर्ने अवसरका रूपमा पनि लिने गरेका छन् । गाउँतिरका सन्थाल केटाकेटीहरू अन्य समुदायले जस्तै गरी घरघरमा आफ्नै लवजमा देउसीभैली खेल्ने गर्छन् ।
नेपालको सबैभन्दा होचो स्थान भएको कचनकबल गाउँपालिकाको वडा नं २ मा बसोबास गर्दै आएको लोपोन्मूख गन्धर्व समुदायले पनि यसपालीको देउसीभैलीलाई समुदायको आफ्नै पहिचान झल्काउने सांस्कृतिक संग्रहालय निर्माण गर्ने अभियानसँग जोडेका छन् ।
पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजको नेतृत्वमा गन्धर्वको टोली संग्रहालयका लागि सहयोग जुटाउँदै देश दौडाहामा निस्किएको अध्यक्ष रविन गन्धर्वले बताए । टोलीले प्रदेशका मन्त्री, पालिकाका प्रमुख र राजनीतिक दलका प्रमुखहरूको घरलाई देउसीभैली खेल्ने ठाउँका रूपमा चयन गरेको छ ।
देश विदेशसम्म पुगेर सारङ्गी रेटेर गीत गाउने गन्धर्वहरुको आफ्नै कला, संस्कृति र परम्पराहरू छन् । पछिल्लो समय आधुनिक र विदेशी संस्कृतिको अतिक्रमणका कारण नयाँ पुस्ताले मौलिकता बिर्सदै गएको र पुरानो पुस्ताले पुरानो संस्कृति जोगाउन हम्मेहम्मे परिरहेको समाजका अध्यक्ष रविन गन्धर्वले बताए ।















Legendary singer Asha Bhosle passes away
हाइटीको सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा ३० जनाको मृत्यु
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया