मिथिला कलाको प्रतीकात्मक अर्थबोघ

काठमाडौँ । मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । कोहवर, अरिपन र पौराणिक कथामा आधारित दृश्य मिथिला चित्रकलामा जनप्रिय रहेका छन् ।
अरिपनको पदचिह्नले सूर्य, चन्द्र तथा पृथ्वीको आत्माको रुप पाइन्छ । सिन्दृरको रातो बिन्दृले प्रकृतिको शक्ति रुपलाई बोध गराउँछ । कोहवरमा वासनात्मक मुद्रा, अरिपनमा शास्त्रोक्त क्रिया पद्धति एवं घरेलु धार्मिक उत्सवहरूका लागि पवित्र ठाउँको प्रतिनिधित्व पनि गरिरहेको छ ।
चित्रहरू पुरातन शैलीको भए तापनि स्पष्टरूपले भाव र प्रतीकमा श्रेष्ठ छन् । चित्रमा मुख सधैँ पाश्र्व दृश्यमा हुन्छन् भने आँखा अगाडिबाट देखिने हुन्छन् । खुट्टाहरू तिर्यक, लामा चुच्चे नाक र ठूला आँखा भएका अनुहारले मङ्गोलियन प्रभाव निर्मित नदेखाई आर्य सन्ततिको बोध गराउनु यसको उत्कृष्टता मानिन्छ । आज–भोलि पनि मिथिलाका नारीहरू कुनै धार्मिक काम र उत्सवमा आफ्ना घर, भित्ता एवं आँगन चित्रहरू बनाउँछन्, बनाइएका चित्रहरू प्राचीन र मध्यकालीन चित्रहरूको जस्तै साधारण हुन्छन् तथा तत्कालीन समयको मिथिलाको पुरातन परम्परालाई जीवित रूपमा देखाउँछन् । मूल रूपमा यो कला नारी वर्गसँग सम्बद्ध छ । यो आश्चर्य तर सत्य हो कि पुरूष वर्गले अपवाद रूपमा नै कला साधनामा भाग लिएका छन् ।
मिथिलाको संस्कृति लोक वैदिक संस्कृति हो । यसको कला परम्परा लोक वैदिक संस्कृतिकै उपज हो, चित्रकला पुस्ताले अर्जित गरेको सम्पत्ति हो र युगानुरूप नयाँ आयाम थपिदै गएका छन् । विषय–वस्तु, रङ्गमा परिवर्तन आए पनि मौलिक संस्कार र प्रवृत्ति अझ पनि त्यसै रूपमा सुरक्षित छ । यस कलाको सांस्कृतिक महत्वसहितको इतिहास हर्षवद्र्धन (सन् ६०३–६४३ ) को समयमा रचित हर्षचरित र नैषद्ध चरित ग्रन्थहरुमा उल्लेखित ग्रहवर्मनको कोहवर भित्ति चित्रमा देवता र कामदेवको चित्र तथा अरिपनहरुको चर्चा पाइन्छ ।
कालिदासको महाकाव्य मेघदूतमा पनि काव्यका चरित्र नायक नवविवाहित यक्षको कोहवर घरको प्रवेश द्वारको भित्तिमा कमल शङ्खका चित्र बनाएको उल्लेख छ । त्यतिखेर विवाहका लागि वरवधुको वरण गरेअनुसार वरको अनुपस्थितिमा वरको प्रतीक फलक (काठ÷हाती दाँत) बनाएर पडाउने वा मगाएर हेर्ने र यज्ञ वरको चित्र राखेर विवाह गर्ने प्रचलन रहेको पनि तत्कालीन साहित्यमा चर्चा भएको पाइन्छ । यस कलाको प्रशंसात्मक चर्चा चौधौँ शताब्दीका विद्वान त्योतिरीश्वरले पनि वर्ण रत्नाकर नामक पुस्तकमा गरेका छन् तर यसको परम्परालाई हेर्ने हो भने अझ प्राचीन कालको हिन्दू सभ्यता र संस्कृतिको स्वर्णिम युगको इतिहासका पानालाई पल्टाउनु पर्ला जस्तो लाग्छ ।
डा। उपेन्द्र ठाकुरको ‘हिस्ट्री अफ मिथिला’ पुस्तकमा भगवान रामचन्द्रको विवाहमा पनि राजा जनकको दरबारमा भित्तीचित्रहरु बनाइएको उल्लेख छ । मिथिला चित्रकलामा सेतो रङ्ग अर्बा चामलको पीठो, सिन्दूरी रङ्ग सिन्दूर र बाख्रीको दूधको मिश्रण, नीलो रङ्ग वनस्पति नील, रातो रङ्ग कुसुम फूल, पीत रङ्ग डोका, घोंंघाबाट चूनामा वरगदको दूध मिश्रण, हरियो रङ्ग सिमी वा बेलको पात र कालो रङ्ग जौका खरानी र गाईको गोबर वा बेलको गुंदको मिश्रणको चलन रहेकोमा वर्तमानमा रासायनिक रङ्गले प्रश्रय पाएको छ ।
प्राकृतिक रङ्गहरुमा स्थायीत्व हुन्छ भने रसायनिक रङ्गमा स्थायीत्वको अभाव देखिएको छ । प्राकृतिक रङ्गहरु घरैमा बनाउने चलन थियो । यसका विषयवस्तुहरूमा मुख्यतयाः लौकिक, पारलौकिक र प्रतीकात्मक पक्षहरूलाई समेटिएको पाइन्छ । लौकिक विषयवस्तु अन्तर्गत धार्मिक, सांस्कृतिक र काल्पनिक विषयवस्तुमा प्राकृतिक दृश्यहरू नदी, पहाड, बगैंँचा, लहरा, कदम, कटहर, चरा, माङ्गलिक वस्तुहरूको साथै सजावटका विभिन्न चित्रहरू र पारलौकिकमा देवीदेवताका सुन्दर चित्रहरू पर्दछन् । प्रस्तुत शिव, विष्णु, लक्ष्मी, सरस्वती, रामसीता, राधाकृष्णका चित्रमा मानवीय भाव, स्नेह एवं ममताको प्रतीकात्मक अभिव्यक्तिको बोध गराउँछ ।
त्यस्तै प्रतीकात्मक विषयअन्तर्गत विभिन्न वनस्पति, प्राणीलगायत चराचुरूङ्गीको बाहुल्यता पाइन्छ । धार्मिक अनुष्ठान र लोकाचारमा आधारित यो कला जीवनको अभिन्न अङ्ग हो । यस कलामा समान्यतः सात किसिमको रङ्गको प्रयोग देखिन्छ । प्राकृतिक र घरेलु उपकरणबाट तयार गरिएको रङ्गले भिन्दा भिन्दै वस्तुहरूको भावलाई उजिल्याउने गरेको छ जो पुस्तौं पुस्तादेखि आमसमुदायमा स्थापित हँुदै आएको छ । पूजाआजा, चाडपर्व अन्य संस्कारहरू उपनयन, विवाह जस्ता अवसरमा कुन–कुन प्रतीकको प्रयोग गर्नेबारे एउटा परम्परा नै बसेको पाइन्छ । मिथिला चित्रकलामा लौकिक अन्तर्गत जीवन र प्रकृतिलाई आधार बनाई वस्तुसत्तात्मक र धारणात्मक प्रतीक परिलक्षित हुने गरेको छ ।
मिथिला चित्रकलामा प्रतीक संयोजन अत्यन्त कलात्मक रूपमा गरिएको पाइन्छ । कलामा संयोजन गरिएका हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीकका रूपमा मानिएको छ भने घोडालाई सूर्य, बल र पुरूष जाति, गाईलाई पवित्रता र मातृत्वका प्रतीक मानिएको छ । त्यस्तै सुगालाई गुरू र मित्रता, माछालाई उत्पादनशक्ति र नारी जातिको प्रतीक मानिएको पाइन्छ । अन्य जीवजन्तुमा कछुवालाई विष्णु, पुरुष वर्ग र दीर्घायु, हाँसलाई सौन्दर्य तथा संसारका कठिनाई पार गर्दै जाने र ज्ञानका प्रतीक मानिएको छ भने युगल जोडी हाँसलाई प्रणय र सुखद् दाम्पत्य जीवनको सङ्केतका रूपमा लिइएको छ ।
कला मानव संस्कृतिको उपज भएकाले कला र संस्कृतिमा लोककलाको अनौठौ संयाजन पाइन्छ । मिथिला चित्रकलामा मयुरलाई नृत्य, सौन्दर्य एवं प्रेमको निवेदक र अनारलाई सौन्दर्यको प्रतीक मानिन्छ । त्यस्तै कदमको फूललाई प्रेमको र कमल फूललाई कोमलता, अनुराग, सौन्दर्य, नारीको शरीरका साथै लक्ष्मीको सङ्केत प्रदान गरी वैभवलाई औंल्याएको हुन्छ । त्यस्तै बाँसलाई वंश वृद्धि र पुरूष जातिको प्रतीकका रूपमा मानी चित्रहरूमा अङ्कित गरिएको पाइन्छ ।
सरसता, समरसता एवं संवेदनशीलतासहितको यो प्रतीकात्मक परम्परा मैथिल संस्कृतिको एउटा यस्तो शिल्प हो जो मैथिलहरूको जीवनशैलीमा यसको दखल नङ–मासुजस्तो देखिन्छ । चित्र तथा मूर्ति बनाइएको घर शून्य हुँदैन भन्ने प्रचीन मान्यताका आधारमा चित्रका अलङ्कारिक अंशका गुणग्राहक तत्वलाई महत्व दिएर त्यसलाई आफ्नो संस्कृतिको आत्माका रूपमा चिरस्थायी बनाएको पाइन्छ । मैथिल संस्कृतिमा विवाहको चतुर्थीको विधि नहुन्जेलसम्मको भित्ते चित्र पनि रङ्गाउने गरिन्छ । यसमा केटाकेटी र घोडाको चित्रद्वारा प्रतीकात्मक रूपमा यौन शिक्षा प्रदान गर्ने जमर्को गरिएको हुन्छ । कोहबर घरका चित्रहरु प्रतीकात्मक अर्थमा सम्पूर्ण जविनचक्रको कथा नै हो ।
मिथिला लोक चित्रकलाले वंशगत शिल्पगत तथ्यअन्तर्गत संसार स्वर्गीय र मानवीय कुराको गठबन्धन जस्तो हो भन्ने भावभूमिमा प्रतीकात्मतालाई आत्मसात गर्दै समाजलाई एक सूत्रमा आबद्ध गर्ने द्योतकसमेत मानिएको छ । मैथिल महिला जुन हातले चित्र बनाउँछन् तिनीहरू तिनै हातले भित्तामा उस्तै कलाकृतिको पनि सिर्जना गर्दछन् । तिनै हातले सिकी, मोथी, मुञ्ज आदिका अनेक शिल्पी सामग्री पनि रङ्गीन चित्रावली समान रचना गर्दछन् । ती कलाहरूमा जीवन, प्रकृति र कल्पनालाई विषय वस्तुगत रूपमा संयोजित गर्दा कसैकसैले प्रकृतिको निरीक्षण गर्ने चेष्टा गरेका हुन्छन् भने कसैले जीवनको गतिशीलता र कसैले काल्पनिक भावनालाई गीतात्मक रूपमा संप्रेषण गर्न खोजेको पाइन्छ ।
मिथिला चित्रकलामा जानेर–नजानेर धार्मिक आस्थाका आधारमा वैज्ञानिक तथ्य पनि पर्याप्त छन् । देवीदेवता, सूर्य, चन्द्र, तारा, नवग्रह, पृथ्वी, सर्प, जलाशय, माछा, विच्छी आदिको धार्मिक महत्वसँगै वातावरणसँगसमेत सम्बन्धित छ । तिनीहरूको चित्र बनाएर पूजा गर्नु धार्मिक मान्यताअनुसार डरबाट मुक्ति र सुरक्षित रहनु पनि मानिन्छ । भित्ती र भूमिबाट कागत र कपडामा नियमित प्रयोजनमा सीमित मिथिला चित्रकला विश्वका सामुन्ने कला पारखी र प्रेमीलाई आनन्द दिन पनि सफल तथा लोकप्रिय भएको छ । मिथिला चित्रकलाले विदेशी कलाप्रेमीका पर्व र समारोहमा शुभकामना आदान प्रदान गरी जित्न सफल भएको पनि देखिन्छ । यसरी हजारौं वर्षदेखि मैथिल जनजीवनमा प्रतीक विधानद्वारा छाप छोड्दै आइरहेको मिथिला चित्रकलाका यी विशिष्ट चित्र शैलीहरु पनि आफ्नो रहस्यमयता र तान्त्रिक अर्थबोधको लागि निरन्तर अध्ययन शोधको विषयका रुपमा स्थापित भइसकेकाले यसलाई पाठ्यक्रममा राखी जीवन्त राख्नु पर्दछ ।
(लेखक पत्रकार तथा मैथिली साहित्यका जानकार हुनुहुन्छ)









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया