मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै

डुम्रे (तनहुँ) । मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिकग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो ।
गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरुप यस कोरिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार कोरिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
त्रिपाठीले भने, “एक पालिका एक उद्योग बनाउने सरकारको लक्ष्य एउटै पालिकामा खर्च गर्दाभन्दा समग्र उद्योग सञ्चालन हुँदा सहज र ठूलो उद्योग स्थापना गर्न सकिन्छ । कोरिडोरभित्रका पालिकासँग समन्वय गरी एक ठाउँमा ठूलै उद्योग सञ्चालन गर्नुपर्छ । साथै पर्यटन प्रवर्द्धनलाई आयआर्जनसँग जोड्न आवश्यक छ । त्यसैले यहाँका प्राकृतिक सुन्दरतालाई आम्दानीसँग जोड्ने हाम्रो लक्ष्य हो ।” अहिले पालिकाबाट निस्कने फोहरमैला व्यवस्थापन व्यापक समस्या बनेको भन्दै उनले अहिले पालिकाअनुसार नै फोहरमैला विर्सजन भइरहेको जानकारी दिए ।
फोहरमैलाको उचित ढङ्गबाट विर्सजन नभएमा दीर्घकालका निम्ति सुरक्षित र वायुमण्डललाई असर गर्ने भएकाले समयमै यसतर्फ सबै सचेत हुनुपर्नेमा त्रिपाठीले जोड दिए । “अहिले त सिसाजन्य फोहरमैला वृद्धि हुँदै गएको छ । यसकारण यसको दीर्घकालीन व्यवस्थापन आवश्यक छ”, उनले भने, “कोरिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहरमैलालाई दुई वा दुईभन्दा बढी पालिकालाई पायकपर्ने उपयुक्त स्थान छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।”
साथै यस कोरिडोरअन्तर्गतका पालिकामा ठूला टार प्रशस्त छन् । टार बाँझिने अवस्था बढ्दै गएकाले यी टारको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको संयोजक त्रिपाठीले बताए ।
लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा सदस्य रहने गरी मस्र्याङदी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ ।
मर्स्याङ्दी नदि कोरिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको बेँशीसहर, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका समावेश छन् । मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गत पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई समावेश गर्नुका साथै यस कोरिडोरमा पर्ने अन्यपालिकासँग पनि आगामी दिनमा समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
कोरिडोरअन्तर्गतका स्थानीय तहबीच तीन÷तीन महिनामा संयुक्त बैठक बस्नेछ । आगामी बैठक फागुन १२ गते बेँशीसहर नगरपालिकामा बस्ने निर्णय भएको समितिले जनाएको छ ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया