शुक्रबार, जेठ २, २०८२

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

मेरोन्यूज २०८० माघ १६ गते १४:४६

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।

नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए। मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे।

“हाम्रा दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना छ । ती सम्भावनाहरू अन्वेषण गरौँ । द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरौँ । कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔँ”, उनले भने, “ कोरियामा हजारौँ नेपाली कामदार छन् । ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया छनौट गरेका छन् । हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौँ ।”

नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहाद्र्रता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए। गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहने बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे। साथै उनले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताए ।

प्रतिक्रिया