शनिबार, वैशाख ५, २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्तिमा विवाद

मेरोन्यूज २०८० फागुन २९ गते १९:३०

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’

यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन्।

उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया