आइतबार, चैत २९, २०८२

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

मेरोन्यूज २०८० चैत २ गते १७:०६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीनिकट महिला सङ्घद्वारा आज आयोजित भेलामा उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उनले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रस्ट पारे । उनले भने, “हामीलाई कुनै पद ओगटेर बस्नु छैन । हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पनि चाहिएको छैन ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जानकारी दिए । उनले भने, “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ । हामी छलफल गर्दै जानेछौँ ।”

देशमा सुशासन कायम गर्न इमानदार नेता तथा कार्यकर्ता चाहिएको बताउँदै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति इमान्दार भएर पार्टीको सङ्गठन निर्माणमा लाग्न निर्देशन दिए ।

सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल गरी उपयुक्त निर्णय गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया