प्रदेशसभा सदस्य गिरीलाई फिर्ता बोलाइएको सूचना सार्वजनिक

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीमा देखिएको आन्तरिक किचलोसँगै सो पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सम्बन्धी सूचना आज सार्वजनिक गरिएको छ ।
धनगढी निवासी गिरी नागरिक उन्मुक्तिबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा सचिवालयमा नागरिक उन्मुक्ति पार्टीको यही चैत २१ गते प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी पत्र प्राप्त भएको र राजनीतिक दलसम्बन्धी ऐन२०७३ को दफा ३५बमोजिम सूचना प्रकाशित गर्ने सभामुखबाट निर्देशन भएकाले जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।
प्रदेशसभाका सचिव देवबहादुर बोगटीले प्रदेशसभा सदस्य गिरीलाई प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने, नबोलाउने भन्नेमा बाँकी काम निर्वाचन आयोगबाट हुने बताए । प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको थियो । सो पार्टीले केन्द्रमा फेरिएको नयाँ गठबन्धनअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको हकमा भने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहकै सरकारलाई सो पार्टीको संसदीय दलले समर्थन यथावत् राखेको थियो । शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद चर्किदा पार्टीका प्रदेशसभा सदस्य पक्ष र विपक्षमा विभाजित भएका थिए ।
सो पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद बढेपछि इन्दिरा गिरी रेशमको पक्षमा उभिएका थिए । केन्द्रमा फेरिएको समीकरणसँगै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले पार्टीका नेता रेशमलाल चौधरीको जोडबलमा गिरीलाई फागुन २६ गते भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन नागरिक उन्मुक्तिका थप तीन प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।
प्रदेशसभाको बैठकमा विश्वासको पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिइसकेका छन् ।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय तोकेर प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न केही दिन नै आह्वान गरिसकेका छन् ।
सरकार गठनमा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्तिले आजसम्म पनि प्रदेश सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट धारणा बनाउन नसक्दा नयाँ सरकार गठनमा पनि अन्योल देखिएको छ ।
मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात ,नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा आगामी वैशाखमा उपचिर्वाचन हुँदैछ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया