सोमबार, वैशाख १५, २०८२

‘हेरचाह र अनौपचारिक क्षेत्रमा काम गर्नेलाई सामाजिक सुरक्षामा समावेश गर्नुपर्छ’

मेरोन्यूज २०८१ मंसिर १२ गते २०:१५

काठमाडौँ । अनौपचारिक क्षेत्र र हेरचाह कार्यमा संलग्नलाई पनि सामाजिक सुरक्षाको दायरामा समावेश गर्नुपर्नेमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘प्रगतिशील आन्तरिक राजस्व परिचालनद्वारा नेपालको हेरचाह अर्थतन्त्रको वित्तीय सुनिश्चितता: राष्ट्रिय परामर्श’ बैठकमा पूर्वमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य विमला राई पौडेलले हेरचाह क्षेत्रमा काम गर्ने महिलाका अधिकारका विषयमा अभियान चलाउनुपर्नेमा जोड दिइन् ।

एसियन पिपुल्य मुभमेन्ट अन डेट एण्ड डेभलभमेन्ट, नेपाल ग्रामीण पुनःनिर्माण संस्था, एलडिसी वाच र दक्षिण एसिया गरिबी उन्मूलन मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै पूर्वमन्त्री राईले अध्ययनले नेपालमा पुरुषको तुलनामा महिलाले छ गुणा बढी हेरचाहसम्बन्धी कार्य गर्ने गरेको देखाएको सन्दर्भ जोड्दै घरधन्दा गर्ने काम महिलाको जिम्मेवारीमै रहेकोजस्तो देखिएकाले महिला पुरुषको समान जिम्मेवारी हो भनेर अभियान चलाउन जरुरी रहेको उल्लेख गरिन् ।

सोह्रदिने महिला हिंसाविरुद्धको अभियान चलिरहेको यो समयमा महिलाहरु घरभित्रै हिंसामा पर्ने गरेको तथ्य डरलाग्दो रहेकोतर्फ पनि ध्यानाकर्षण गराइन् । उनले भनिन्, “अनौपचारिक क्षेत्रमा काम गर्ने, वा घरभित्रै काम गर्नेलाई पनि अब सामाजिक सुरक्षाको दायरामा लैजानुपर्छ, त्यसका लागि अब सामाजिक अभियान चलाउनुपर्छ र त्यसको नेतृत्व पुरुषले गर्नुपर्छ ।” उनले तिनै तहको सरकारले नीति नै बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि दबाब नै आवश्यक भएको औँल्याइन् ।

कार्यक्रममा एक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै दक्षिण एसिया गरिबी उन्मूलन मञ्चका प्रतिनिधि सुधीर श्रेष्ठले हेरचाहसम्बन्धी काम गर्नेहरुका विषय आर्थिकरुपमा गणना नै नहुनु विडम्बना भएको बताए । उनीहरुमा रोजगारी सम्झौता नहुँदा पनि सामाजिक सुरक्षामा जोडिन नसकिएको उल्लेख गर्दै उनले अहिले सामाजिक सुरक्षा भनेको भत्ता दिनेमात्रै हो भन्ने भाष्य ठीक नभएको बताएका छन् ।

सन् २०१८ मा गरिएको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्न सक्ने उमेर समूहका महिला पुरुषका तुलनामा २० लाख बढी छन् । तर महिलाका हकमा श्रमशक्ति सहभागिता दर २६ दशमलव ३ प्रतिशत र पुरुषको सहभागिता दर ५३ दशमलव ८ प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

छलफलमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले अनौपचारिक क्षेत्र र हेरचाह क्षेत्रमा महिलाको सहभागिता बढिरहेको उल्लेख गर्दै उनीहरुले पनि अर्थतन्त्रमा योगदान गरेको कुरालाई भूल्न नहुनेमा जोड दिइन् । त्यसका लागि नीतिगत रुपमै सुधार आवश्यक भएको उनले बताइन् ।

महिलाको संलग्नता रहने र उनीहरुकै आधारमा चलिरहेको स्याहार अर्थतन्त्र नेपालका सन्दर्भमा पनि एक महत्त्वपूणर् बहसको विषय बनेको छ । विशेष गरी यस क्षेत्रमा संलग्न रहेका व्यक्तिको ज्याला, कामको स्थायित्व, सामाजिक सुरक्षा, कामको पहिचान, कामको पुनर्वितरण आदि पनि वैतनिक र अवैतनिक अवस्थाका आधारमा हेर्दा भिन्न छन् साथै केही समान समस्या र केही विशिष्ट प्रकृतिका चुनौती र भिन्नता पनि ।

यसै सन्दर्भमा नेपालका नागरिक तथा सामाजिक संघ संस्थाहरुले पहिचान गरेका वैतनिक तथा अवैतनिक स्याहारका क्षेत्रका चुनौती र सामाजिक सुरक्षाका सबाल के के हुन् र यस सन्दर्भमा नेपाल सरकारको आधिकारिक अवधारणा र नीतिगत बहसका सन्दर्भमादेखिएका चुनौती के के छन् भन्ने छलफल र बहसको आवश्यकता बढ्दै गएको देखिन्छ ।

नेपालका सन्दर्भमा कुरा गर्नुपर्दा कुल महिला श्रमशक्तिको जम्मा २६.३ प्रतिशत मात्रको श्रम सहभागिताले पनि अवैतनिक स्याहारका काममा महिलाको अधिकांश समय खपत हुने गरेको देखाउँछ जबकी पुरुषको यही सहभागिता ५३.८ प्रतिशत पाइएको छ । यस प्रकारका सामाजिक आर्थिक परिपाटीले महिला सशक्तिकरणको अभियान र उनीहरुको आर्थिक अवस्था सबल बनाउने प्रक्रियामा नकारात्मक भूमिका खेलेको देखिन्छ ।

प्रतिक्रिया