राजविराजमा रात्रिकालीन उडान सुरु

राजविराज (सप्तरी)। राजिवराज विमानस्थलमा रात्रिकालीन उडान सुरू भएको छ। उपकरणको सहायतामा राजविराजमा रात्रिकालीन उडान हुन थालेको हो।
१५९० मिटर लम्बाई रहेको धावनमार्ग ३० मिटर चौडाईको छ।
राजविराजको रात्रिकालीन उडानले सिरहा, सप्तरी, सुनसरी र उदयपुरका यात्रुहरुलाई सेवा पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
राजविराज उडानले भारतका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई यात्रा गर्नेलाई समेत सहयोग पुग्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
बुद्व एअरद्वारा गत शुक्रबार इन्स्ट्रुमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको फिजिबिलिटी परीक्षण उडान सफल रुपमा सम्पन्न भएको थियो।
आईइएफआर नियम अन्तर्गत उडान सुरु भएमा हिउद्को समयमा कम भिजिबिलिटीले गर्दा हुने उडान डीले तथा रद्द मा कमी आई यात्रुहरुले समयमा नै यात्रा गर्न पाउने प्राधिकरणको विश्वास छ।
आइ एफ आर तथा रात्रिकालीन उडानको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि बद्रि पाण्डेले गरे। कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित जनप्रतिनिधिको सहभागिता थियो।
राजविराज विमानस्थल १९६० मा सञ्चालनमा आएको थियो। हालसम्म भीएफआर उडान हुँदै आएकोमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम सुरु भएको हो।
विमानस्थलमा एटीआर ७२, सीआरजे २०० जहाजले उडान तथा अवतरण गर्न सक्छन्।
अब देशभर १० वटा विमानस्थलमा राति आईएफआर सुरू भएको छ। रात्रीकालीन उडान हुने विमानस्थलको संख्या तीन अन्तर्राष्ट्रिय सहित धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराजमा सुरू भएको छ।
प्रतिक्रिया