बिहीबार, वैशाख १८, २०८२

वाइडबडी घोटाला : नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

मेरोन्यूज २०८१ पुष ९ गते १५:१७

काठमाडौं । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर (७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना तिराएको छ ।

अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको हाे । विज्ञप्तिमा भनिएको छ, “सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एयरलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो ।”

सो कम्पनीका एक अधिकारीले नेपालमा र दक्षिण अफ्रिकाका सरकारी अधिकारीहरुलाई घुस दिएको स्वीकारेको र २४ मिलियन डलर अवैध नाफा कमाएको पाइएको विज्ञप्तिमा जनाइएको छ ।

एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाली अधिकारीहरुलाई घुस प्रस्ताव गरी दुई एयरबस ए३३०-२०० विमान बिक्री गर्ने सम्बन्धमा नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया