आइतबार, वैशाख ७, २०८२

आँखा उपचार गर्न  विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन्

मेरोन्यूज २०८१ पुष २७ गते ८:२१

काठमाडौँ । विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा संलग्न नेपाली लाभान्वित भएका हुन् । 

संघले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । उनका अनुसार संघले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भने, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघको सहकार्यमा संघले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । संघको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भइराखेको छ । पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ । ”

नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ । यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भइराखेको छ । उनका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुई लाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए । 

अर्कोतर्फ संघले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने समेत गरेको छ । गत असोजमा संघद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सकले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गरेका थिए । नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका ,नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए । 

संघका कार्यकारी निर्दशक डा.शैलेशकुमार मिश्रले भने “पछिल्ला वर्षमा नेपाल आँखा उपचारको पर्यटन गन्तव्य अर्थात् ‘आइ मेडिकल टुरिजम’को रूपमा विकसित हुँदै गएको छ । सन् २०२३ मा मात्र भारत र बंगलादेश सहित विभिन्न देशका आठ लाख आँखाका बिरामीले संघको सञ्जालमार्फत् आँखा उपचार गराएका छन् । ”

नेपालको आँखा स्वास्थ्य सेवामा सबैभन्दा ठूलो संयन्त्र भएको संघ अन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, एकसय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा रहेको छ । विसं २०३५ मा स्थापना भएको संघले हालसम्म नेपाली नागरिक तथा अन्य नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखा  बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । यसैगरी ५१ लाख ३३ हजार छ सय ५९ जनाको शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउन सफल भएको छ ।  

संघका उपाध्यक्ष श्यामकुमार पोखरेलले भने, “आँखा उपचार गर्न भनेर विदेश जानुपर्दैन, अव विदेशी नेपाल आउन थालेका छन् । आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम भएको छ । ”

प्रतिक्रिया