साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या

काठमाडौं । पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ।
हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारीलाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो।
प्रहरी उपरीक्षक मिश्रका अनुसार कुर्मीको हत्याका ‘मुख्य योजनाकार’ मुकेश रहेको अनुसन्धानमा खुलेको छ।
कुर्मीको शव गत फागुन ११ गते साँझ साढे ५ बजे वीरगन्ज महानगरपालिका-२८ जगरनाथपुर ढाटभन्दा करिब ५०० मिटर पश्चिम भेडैया खोलामा फेला परेको थियो। खोलामा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।
कुर्मीको हत्या फागुन ७ गते प्रजातन्त्र दिवसको दिन साँझ ६:१० बजे भएको अनुसन्धानबाट खुलेको मिश्रले पत्रकार सम्मेलनमा बताए।
मिश्रका अनुसार कुर्मी सोही दिन वीरगन्ज काम गर्न जान्छु भन्दै घरबाट निस्किए। तर, भोलिपल्टसम्म नफर्किएपछि कुर्मीका बुवाले प्रहरीमा निवेदन दिएका थिए।
‘कुर्मीका बुवाले निवेदन दिएपछि हामीले घटनाको अनुसन्धान थालेका थियौं, खोलामा शव फेला परेपछि अनुसन्धान गर्दा हत्या गरेको पत्ता लागेको थियो,’ मिश्रले भने।
अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीनै जना साथी हुन्। उनीहरूमध्ये कुर्मी र मुकेश आपसी सहमतिमा सापटी रकम लेनदेनसम्म गर्थे। मुकेशले कुर्मीसँग पटक-पटक गरेर सापटी लिएको ३५ सय रुपैयाँ फिर्ता गर्न बाँकी थियो।
अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीन जना युवक फागुन ७ गते भेला भएपछि तास खेल्न खुल्ला ठाउँमा गएका थिए। तास खेल्ने क्रममा मुकेश र हत्या गरिएका कुर्मीले हारे।
हारेपछि कुर्मीले आफूले विगतमा दिएको त्यो ३५ सय रुपैयाँ मुकेशसँग माग्न थाले। ‘तास खेलेका अरू दुई जनाले जितेका थिए, मुकेश र कुर्मीले मात्रै हारेका थिए, आफूले हारेपछि कुर्मीले मुकेशसँग विगतमा दिएको सापटी रकम माग्न थाले,’ प्रहरी उपरीक्षक मिश्रले भने।
मिश्रका अनुसार सापटी रकमको विषयमा वादविवाद हुन थालेपछि चारै जना तासको खालबाट उठे। उनीहरूले त्यसबेला सामूहिक निर्णय गरे – अब नजिकैको उखुबारीमा जाऔं, उखु चोरेर खाऔं।
चारै जना उखुबारी पुगे। उखु चोरेर खाउन्जेलसम्म अप्रिय घटना भएको थिएन। जब, चारै जना फर्किए, फर्किने क्रममा बाटोमा मुकेशले आफूले अघिल्लो दिन (फागुन ६ गते) हेरेको साउथ इन्डियन फिल्म ‘मारको’मा भिलेनले मान्छे मारेको सम्झिए।
‘त्यो फिल्ममा भिलेनले मानिसलाई घिच्रोमा समातेर रुखमा टाउको ठोक्काएर मारेको दृश्य मैले सम्झिएँ,’ मुकेशको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मिश्रले भने, ‘सापटी चलाएको रकमको विषयमा वादविवाद गरेको घटनाबाट मलाई रिस उठिरहेको थियो, मैले कुर्मीको टाउको रुखमा ठोक्काइदिएँ।’
त्यसपछि मुकेशले रुखमा टाउको ठोक्काएपछि बेहोस् भएका कुर्मीको दुबै हात सर्टले बाँधिदिए।
‘मुकेशले बेहोस् अवस्थामा रहेका कुर्मीलाई घिस्याएर खोलामा लगेर फाल्दिए,’ मिश्रले भने, ‘बेहोस् अवस्थामा फालिएका कुर्मीको खोलामा मृत्यु भएको अनुसन्धानमा देखिन्छ।’
कुर्मीलाई खोलामा फाल्दा मुकेशसँगै पक्राउ परेका अन्य दुई जनाले सहयोग गरेका थिए। ‘तर, उनीहरूले के-कति सहयोग गरे भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ,’ मिश्रले भने।
पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको मिश्रले बताए।


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया