तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरुको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए ।
“म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ”, उनले भने, “कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शुल्कले निर्माण सामग्री खरिद, मजदुरको ज्याला व्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाएका हौँ ।”
यस्तै १५÷१५ फिट लम्बाइ चौडाइ र दुई दशमलव पाँच फिट उचाइ भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्नसक्ने क्षमता रहेको सचिव केसीले बताए । हालको तातोपानी स्नानस्थलभन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ ।
उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पु¥याउने संरचना निर्माण भएको छ । स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाइएको छ । ढल व्यवस्थापनका लागि नाली निर्माण गर्न बाँकी छ ।
सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको समस्या निको हुने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेका समितिको तथ्याङ्क छ । ३५० का दरले शुल्क तिरेर सातदेखि १० दिनसम्म स्नान गर्न पाइन्छ ।
छोटो अवधिमा स्नान गर्नेहरुका लागि प्रतिपटक १०० शुल्क तोकिएको छ । हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्न दुईवटा फरक–फरक पोखरी छन् । भ्रमण गर्न आउने र जाडो याममा स्नान गर्नेहरुको मङ्सिरदेखि फागुन–चैतसम्म घुइँचो लाग्ने गर्छ ।
ठूलो पोखरीमा एकपटकमा ३०० जनाले स्नान गर्नसक्ने क्षमता छ । पाहुनाको चाप बढेकाले दुई÷दुई घण्टाका दरले तीनवटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताए ।
प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत नगरपालिकालाई बुझाउने गरिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीको तलबभत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वती माविका पाँच निजी स्रोतका शिक्षकको तबलभत्तामा खर्च गरिँदै आएको छ ।
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया