मंगलबार, वैशाख २, २०८२

वीरगञ्ज झडप : दुई पक्षबीच पाँचबुँदे सहमति

मेरोन्यूज २०८१ चैत ३० गते १९:२७

काठमाडौं । हनुमान जयन्तीको शोभायात्राको क्रममा भएको विवाद साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार दिनभर भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको हो।

घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानूनी प्रक्रियानुसार आवश्यक कारबाही गर्ने, सद्भाव र सहिष्णुता कायमः बैठकमा सहभागी सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै घटनाको अनुसन्धान तथा कानूनी प्रक्रियामा पूर्ण सहयोग पुर्‍याउने सहमति पनि भएको छ। घाइतेको उपचार र क्षतिपूर्ति, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गरिने भएको छ।

यसका साथै घटनाबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ। धार्मिक, सांस्कृतिक र जातीय कुनै पनि कार्यक्रममा हतियार प्रदर्शन निषेध गरिएको छ। यदि यस्तो कार्य गरेको पाइएमा दोषीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

दुई पक्षबीच पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा तत् तत् संस्थाबाट सञ्चालित विद्यालय–मदरसा इत्यादिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।

दुई समुदायबीच झडप भएपछि पर्सा जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिन आइतबार (आज) मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया