सांस्कृतिक पक्ष जोगाएर केबलकार बनाउन तयार छौँ : चन्द्र ढकाल

विराटनगर । पाथीभरा केबलकार निर्माणका लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सांस्कृतिक पक्ष संरक्षण गर्दै पाथीभरा केबल कार निर्माण अघि बढाउन आफू तयार रहेको बताएका छन् ।
कोसी प्रदेश लगानी सम्मेलनको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ कोसीले आज विराटनगरमा राखेको अन्तरसंवाद कार्यक्रममा ढकालले आफूहरु हरेक भाषा, धर्म र रीतिरिवाज संरक्षणमा भूमिका खेल्न तयार रहेको बताए ।
उनले भने, “संस्कृति प्रवर्द्धन र संरक्षण गरेर अगाडि बढ्न हामी तयार छौँ । कम्पनीको तर्फबाट समेत छलफल गरेर अघि बढ्ने कुरामा सकारात्मक छौँ ।” वार्ता र सहकार्यको माध्यमबाट समस्या समाधान गरी केबलकारको काम सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।
पहिचानवादी पक्षले उठाएको संस्कृति, धर्म, परम्परा र इतिहासको विषयमा आफू समेत संवेदनशील रहेको ढकालले बताए ।
पहिचान पक्षबाट बिहीबार आएको विज्ञप्ति सकारात्मक भएको भन्दै ढकालले विकास, रोजगारीमा स्थानीयलाई अवसर र सांस्कृतिक धार्मिक संरक्षणको काम गर्न तयार रहेको बताए ।
सोही कार्यक्रममा कोसीका कृषिमन्त्री खगेनसिंह हाङगामले ताप्लेजुङबासी विकास विरोधी नभएको बताउँदै विकासले स्थानीयको धार्मिक, सांस्कृतिक र पहिचानमा के कस्तो असर पुग्छ भन्ने अध्ययन हुनुपर्ने बताए ।
उनले भने,“पाथीभरा केवल कारको विषय पनि त्यस्तै हो । रगतले पोतेर गरिएको विकास हुन्छ कि हुदैन ?”
पहिचानवादी पक्षले विरोध र संघर्ष गरेपछि पाथीभरा केवल कारको निर्माण कार्य तत्काललाई स्थगित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया