बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

काठमाडौं । भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीहरूलाई फोटोमार्फत प्रस्तुत गरिएको छ। प्रदर्शनीमा भूकम्प गएपछिको बारपाकको आर्थिक अवस्था र सामाजिक भोगाइसँग सम्बन्धित फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाका ६० वटा फोटो राखिएका छन्।
प्रदर्शनीको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। प्रचण्डसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलगायतले फोटो प्रदर्शनी अवलोकन गरेका थिए।
प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त गोरखाका भौतिक संरचनाको बाँकी पुनर्निर्माण सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढसंकल्प अद्वितीय रहेको उनको भनाइ थियो। पुनर्निर्माणका धेरै काम सम्पन्न भए पनि जनताले अझै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा चुनौती सामना गरिरहेका उनले उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण सन्तोषजनक नभएको स्वीकार गर्दै भने, ‘भूकम्पअघि जस्तो बारपाक थियो त्यस्तो बनाउन हामीले सकेनौँ । पर्यटक आकर्षण गर्ने हिसाबले भौतिक संरचना बनाउन सकिएन। हेर्दा राम्रो त देखिएको छ, तर बारपाकको मौलिकता हराएको छ।’
बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको फोटो प्रदर्शनीको प्रवर्द्धकको रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ। अर्घाखाँची सिमेन्ट, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको सहयोग रहेको प्रदर्शनीको मिडिया पार्टनरमा नेपाल फोटो लाइब्रेरी छ।
प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरे। ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिनेछ।
प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश–विदेशसम्म पुर्याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।
०७२ सालको भूकम्पपछि बारपाक पुगेर त्यहाँको विनाश क्यामेरामा कैद गरेका तिमिल्सेना हरेक वर्षजस्तो त्यहाँ पुगेका थिए। त्यही क्रममा विगत १० वर्षमा त्यहाँ देखिएको परिवर्तनलाई फोटो प्रदर्शनीमार्फत स्थानीय र सरोकारवालाहरूलाई देखाउने प्रयास गरेको उनले बताए।
प्रतिक्रिया