आज राष्ट्रिय पत्रकारिता दिवस, पत्रकारिताको पेशागत सुरक्षाको सुनिश्चिता अपरिहार्य

काठमाडौँ। पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि नीतिगत र संरचनागन सुधार जरुरी रहेको आवश्यकता यस क्षेत्रका विज्ञहरुले औँल्याएका छन् । व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि स्वयम् पत्रकारले पनि उच्च व्यावसायिक अभ्यास गर्नुपर्ने र यसको प्रवर्द्धन र प्रोत्साहनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा रासससँग कुराकानी गर्दै त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दर अर्यालले पत्रकारको पेशागत सुरक्षाका लागि लोकतन्त्र बलियो र सुदृढ हुनुपर्ने धारणा राखे । उनले भने, “पत्रकारिताको पेशागत सुरक्षा लोकतान्त्रिकरण हो, लोकतन्त्र बलियो भयो भनेमात्रै पत्रकारिता सुरक्षित र जिम्मेवार हुन्छ ।” समाजमा जुनसुकैपक्षबाट गरिने दबाब र विरोध प्रदर्शनमा कार्यक्षेत्रमा खटिएका पत्रकार निशामामा पर्ने गरेका छन् ।
पछिल्ला घटनाक्रम र कार्यक्षेत्रमा भएका पत्रकारमाथिका विभिन्न घटनाले त्यसलाई चित्रित गर्छ । त्यसैले देश, समाज र जनताप्रति उत्तरदायी मर्यादित र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषित गर्ने पत्रकारको पेशागत सुरक्षाका साथै उनीहरुको श्रमको कदर गर्ने परिपाटीको विकास खड्किएको छ । राष्ट्रिय पत्रकारिता दिवस, विश्व प्रेस स्वतन्त्रता दिवस आदि मनाइरहँदा केवल औपचारिकतामा मात्रै सीमित हुने र पत्रकारको पेशागत सुरक्षा र श्रमजीवीको तलब सुविधाको सुनिश्चितातर्फ पनि सबै सरोकारपक्ष जिम्मेवार बन्न जरुरी रहेकामा विज्ञहरु एकमत देखिन्छन् ।
वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपालमा पत्रकारहरुको पेशागत सुरक्षाको चुनौती बढेको बताउनुहुन्छ । “अझै पनि पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था गम्भीर रुपमा छ”, उनले भने, “हामीले पत्रकारका लागि सुरक्षित वातावरणको सुनिश्चित गर्न सकेका छैनौँ । विभिन्न किसिमको भौतिक असुरक्षा र डिजिटल प्रविधिमार्फत पनि पत्रकार असुरक्षित हुने अवस्था रहेको छ ।” वरिष्ठ पत्रकार दाहालले पत्रकारको पेशागत सुरक्षा, भौतिक र डिजिटल सुरक्षाका लागि बहुसरोकारवाला राष्ट्रिय संयन्त्र र राष्ट्रिय कार्ययोजन जरुरी रहेको खाँचो औँल्याए ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पनि पछिल्लो समय पत्रकारको पेशागत र भौतिक सुरक्षा निकै चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो । उनले भने, “पत्रकारमाथि कार्यक्षेत्रमै आक्रमण हुने, ज्यान गुमानुपर्ने अवस्था छ । राज्य र गैरराज्यबाट विभिन्न धम्कीलगायत विभिन्न अवरोधहरु झेल्नुपर्ने अवस्था छ । त्यसैगरी पत्रकारहरुको श्रमको मुद्दा झनै पेचिलो बनिरहेको छ । श्रमजीवीले समयमै तलब सुविधा पाउन सकेका छैनन् ।” महासचिव दाहालले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चिताका लागि राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उनले पत्रकारिताको माध्यमबाटथ सामाजिक, आर्थिक विकासमा योगदान गर्ने व्यक्तिलाई राज्यका तर्फबाट प्रोत्साहन र नयाँ पुस्तालाई यस पेशाप्रति आकर्षित गर्न दिवसका अवसरमा सरकारले हरेक वर्ष सम्मान र पुरस्कारको व्यवस्था गरेको जानकारी दिए ।
नेपालमा गोरखापत्र पत्रिका र प्रकाशन सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको छ । यस वर्ष ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गोरखापत्रले नेपालको गरिमा बढाएको छ पत्रकारिता केन्द्रीय विभाग प्रमुख डा अर्यालले गोरखापत्र सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको र संस्था स्थापनाको १२५औ वर्षले नेपालको गरिमालाई बढाएको बताए ।
“संसारमै १२५ वर्षसम्म निरन्तर प्रकाशित हुने पत्रपत्रिकाहरु निकै कम छन् त्यसमाथि नेपालजस्तो मुलुकमा यति पुराना पत्रिकाहरु बिरलै हुन्छन् । गोरखापत्रले नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ, जुन एउटा गौरवको विषय हो”, उनले भने । गोरखापत्र प्रकाशन सुरु भएको बेलाको प्रविधि, सञ्चारको साधन र अहिले धेरै फरक भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउदै गर्दा पत्रपत्रिका भनेको कागजमा छापिने कुराहरु भनेर हामीले गोरखापत्रलाई सम्झिन्छौ । तर, अहिलेसम्म आइपुग्दा पत्रकारिताको शब्द विस्तार भइसकेको छ । डा अर्यालले भने, “जतिबेला गोरखापत्र सुरु भएको थियो त्यो बेलामा रेडियो र टेलिभिजन पनि थिए ।
अहिले हामी मिडिया कन्भरजेन्स र टेक्नोलोजी कन्भरजेन्स’को युगमा आइसकेका छाँै, त्यसैले अब पत्रकारिताको नयाँ ढङ्गले परिभाषित भइसकेको अवस्था छ ।” डा अर्यालले शक्तिमा रहनेलाई निगरानी गर्न, समाजलाई एकीकृत गर्न र जनतलाई सुसूचित गर्न पत्रकारिता पेशा र व्यवसाय निरन्तर रहिरहनुपर्ने धारणा राख्नुभयो । पत्रकारिताका सामग्री नैतिकवान बनाउन, कृत्रिम बौद्धिकताको प्रयोग आदिलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने अपरिहार्यता रहेको उनको भनाइ छ । पछिल्लो समय प्रविधिको प्रभाव बढेको छ । पत्रकारिता क्षेत्रलाई नै अलमल बनाएको छ । साँचो र झुटो छुट्टयाउनका लागि आम मानिसलाई गाह्रो भएको छ ।
झुटो कुरालाई पनि असाध्यै राम्रोसँग प्रस्तुत गर्ने प्रवृत्तिलाई चिरेर भ्रमहरुलाई हटाउने र सही सूचना दिने काम पत्रकारिताबाटै हुनुपर्छ पर्ने भन्दै डा अर्यालले यसका लागि पत्रकारहरु अझ सकज, सीप र ज्ञान भएका हुन जरुरी छ भने । देशले मौलिक पत्रकारिता दिवस भनेर गोरखापत्रको प्रकाशन सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने नयाँ प्रचलन सुरु गरिएको स्मरण गर्दै वरिष्ठ पत्रकार दाहालले यो प्रचलन नयाँ भएकाले दिवसको सान्दर्भिकता र प्रभावकारिताबारे अझै छलफल गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले पत्रकारिता जनतालाई सुसूचित गर्ने र सशक्तीकरण गर्ने अहम माध्यम हो भन्दै त्यसलाई अझै सबल, सफल र प्रभावकारी बनाउन सबै जिम्वार भएर लाग्नुपर्नेमा जोड दिए ।
महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार राष्ट्रिय पत्रकारिता दिवस वास्तमा नेपालमा आमसञ्चार जगतका लागि निकै महत्वपूर्ण दिन हो । दिवसमा रचनात्मक काम गर्ने, पत्रकारिताको अहिलेको अवस्थालाई सुधार्ने र श्रमजीवी पत्रकारहरुको हितमा अधिकतम परिणाममुखी सन्देश दिने वा कुनै निर्णयहरु गर्ने हुनुपर्नेमा उनको भनाइ छ । महासचिव दाहालले भने, “दिवसको आयाम फराकिलो छ, त्यसैले यसलाई खास पत्रकारको दिवस जुन दिन नेपालका आमसञ्चारका पक्षमा र आम श्रमजीवीका पक्षमा केही न केही काम सुरु गरेको दिनको रुपमा यसलाई विकसित गर्न जरुरी छ ।
त्यसो भयो भने मात्र दिवसको सान्दर्भिकता झल्किन्छ ।” गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रिय पत्रकारिता दिवसले समग्र पत्रकारिताको विषयमा समीक्षा गर्ने, पुनरावलोकन गर्ने र पत्रकारिताको गुणस्तरअभिवृद्धिको विषयमा छलफल गर्ने वातावरण सिर्जना गर्ने बताए। उनले भने, “पत्रकारिता क्षेत्रका लागि मात्रै होइन, समाज र पत्रकारिताको अन्तरसम्बन्ध र पत्रकारिताले समाजमा पारेको प्रभावबारे सोच्ने, संवेदनशील हुने र तदअनरुप गतिविधि समयसापेक्ष बनाउन दृष्टिकोण बनाउन सहयोग हुन्छ ।”
पत्रकार र राज्यबीचको सम्बन्ध, लोकतान्त्रिक अभ्यास र आचरणलाई सुदृढ गर्दै शासन व्यवस्थालाई जिम्मेवार र पारदर्शी बनाउन पैरवी र सचेतना गराउन दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सञ्चार मन्त्रालयका सहसचिव ठाकुरले दशौैं पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रको विकास प्रवद्र्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गरे ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया