प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेस भएको छ ।
बैठकमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ र कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१÷८२’ प्रतिवेदन पेस गरेका हुन् ।
पर्यटन समितिका सभापति यादवले समितिको गठन भएदेखि हालसम्म ४० वटा बैठक सम्पन्न भएका बताउँदै ती बैठक नीति, कार्यक्रम, कार्यान्वयन र उपलब्धिको समीक्षामा केन्द्रित रहेका जानकारी दिए । उनले वैदेशिक भ्रमणलाई प्रभावकारी बनाउने, नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयकबारे समितिले निर्देशन गरेको बताए ।
त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति सुवेदीले समितिको हालसम्म ६४ बैठक र उपसमितिको ५४ बैठक गरी कूल एक सय १८ बैठक सम्पन्न गरी आवश्यक सुझाव, निर्णय र निर्देशन दिइएको जानकारी दिइन् । उनका अनुसार समितिले मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन गर्नका लागि सरोकार भएका निकायलाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिएको छ ।
त्यसैगरी समितिले कानुन र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानुनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक रायसल्लाह र निर्देशन गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया