आइतबार, वैशाख १३, २०८३

गण्डकीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ‘हिस्टो प्याथोलोजी’ सेवा

मेरोन्यूज २०८२ साउन १७ गते १२:५८

गण्डकी । क्यान्सरलगायत सङ्क्रमणजन्य रोगको प्रयोगशाला परीक्षणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत पहिलोपटक ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गरिएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले गत बिहीबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवामार्फत शरीरका अङ्ग तथा तन्तुको सुक्ष्म परीक्षण गरी क्यान्सरलगायतका रोग पत्ता लगाउन सकिने प्रयोगशालाका निमित्त प्रमुख डा विश्वराज बरालले बताए । ‘शरीरको भित्री र बाहिरी अङ्गको केही भाग निकालेर त्यसको प्रशोधन र सुक्ष्म परीक्षण गरी रोग पत्ता लगाइन्छ’, उनले भने, ‘हिस्टो प्याथोलोजी जाँचबाट क्यान्सरलगायत जुनसुकै रोगको निदान गर्न सकिन्छ ।’

Advertisement
NiccNicc


सङ्घ सरकारअन्तर्गतका अस्पताल र अन्य केही निजी अस्पतालमा यो सेवा केही वर्षअघिदेखि सुरु भएपनि प्रदेशको स्वास्थ्य मन्त्रालयले पहिलोपटक ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गरेको हो ।


स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य सेवा विस्तार र सुदृढीकरणमा यो सेवाबाट महत्वपूर्ण टेवा पुग्ने बताए । ‘प्रदेश सरकारमार्फत ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्नेमा हामी पहिलो बनेका छौँ, प्रयोगशाला जाँचमा अत्याधुनिक प्रविधि भित्राएका छौँ’, उनले भने, ‘क्यान्सर परीक्षणका लागि अन्यत्रका अस्पताल जानुपर्ने बाध्यता हटेको छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट सहज रुपमा यो सेवा उपलब्ध छ ।’

Shivam Cement
उक्त प्रयोगशालाले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिँदै आएको छ । सरकारी र निजी जुनसुकै अस्पतालबाट आएका नमुना परीक्षण गर्ने गरिएको प्रयोगशालाका निमित्त प्रमुख डा.बरालले बताए । ‘दिनमा ५० देखि एकसय जनासम्म बिरामीलाई परीक्षण सेवा प्रदान गर्दै आएका छौँ, प्रयोगशालामा २२ जना कार्यरत छौँ’, उनले भने ।

प्रतिक्रिया