गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या

‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल–ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको खेलकुदको स्थानीय प्रशासकीय निकायले जनाएको छ । प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।”
गाजा भोकमरीको सङ्कटमा परेको अवस्थामा, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत महिना इजरायली सेनाले मे महिनाको अन्त्यदेखि यस क्षेत्रमा खाद्यान्न सहायता लिन खोजिरहेका एक हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको हत्या गरेको बताएको थियो । गाजाको खादामत अल–शती क्लबका पूर्व स्टार ओबेदले प्यालेस्टिनी टोलीका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । “आफ्नो लामो करियरमा, अल–ओबेदले एक सयभन्दा बढी गोल गरे, जसले उनलाई प्यालेस्टिनी फुटबलको सबैभन्दा चम्किला ताराहरू मध्ये एक बनायो”, पिएफएले भनेको छ ।
मिडफिल्डर ओबेदले इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैंकको अल–अमारी युथ सेन्टर क्लबका लागि पनि खेलेका थिए । सन् २०१० मा त्यहाँ बस्दै गर्दा, ओबेद मौरिटानियामा मैत्रीपूर्ण खेलका लागि जाँदै गर्दा ‘सुरक्षा कारणहरू’ का लागि जोर्डन सीमामा फिर्ता गरिएका गाजाका राष्ट्रिय टोलीका छ खेलाडी मध्ये एक थिए । खेलाडीहरूले वेस्ट बैंकमा खेल्न अनुमति दिने विशेष अनुमतिपत्र नवीकरण गर्न असफल भएको एक इजरायली सुरक्षा अधिकारीले त्यतिबेला बताएका थिए ।
“जब मैले सुनेँ कि हामीलाई यात्रा गर्नबाट निषेध गरिनेछ म धेरै दुःखी भएँ, किनभने कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय जर्सी लगाउने सपना देख्छ”, ओबेदले सन् २०१० मा एएफपीलाई भनेका थिए, “हामी संसारका अन्य ठाउँका खेलाडीहरू जस्तै आफ्ना परिवारहरूसँग स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम हुन चाहन्छौँ ।” यसअघि इजरायलले छ खेलाडीलाई टोलीसँग यात्रा गर्न अनुमति दिएको थियो ।
गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए । प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्ध सुरु भएदेखि खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन् । तीमध्ये फुटबल समुदायका तीन सय २१ जना छन् । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणले गाजामा कम्तीमा ६१ हजार दुई सय ५८ जनाको ज्यान लिएको छ । आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया