शुक्रबार, माघ ९, २०८२

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

मेरोन्यूज २०८२ माघ ९ गते १६:५३

काठमाडौं । सरकारले तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ ।

माघ ८ गते बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हाे ।

यसैगरी बैठकले सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णय :

सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने ।

भारतको नयाँ दिल्लीमा ०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने पहिलो साउथ एसियन एग्रोफरेस्ट्री एन्ड ट्रेस आउटसाइड फरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने ।

०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने ।

नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने ।

नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने ।

मिति २०८१/११/२७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१–११–२७ गतेको अतिरिक्तांक गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने ।

गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।

प्रतिक्रिया