सोमबार, माघ १२, २०८२

सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा

मेरोन्यूज २०८२ माघ १२ गते १२:५५

सुदूरपश्चिम । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् ।

१६ निर्वाचन क्षेत्र रहेकाे सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ । उनी यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन् । साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवारलाई अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं १ बाट पूर्वउपप्रधानमन्त्री समेत रहेका भीम बहादुर रावल चुनावी मैदानमा छन् । सो पार्टीबाटै कैलाली क्षेत्र नं ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं १ मा बीना मगर चुनावी दौडमा छन् । आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुन् ।

नेकपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भइसकेका त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । प्रदेश सरकारकै पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार प्रवेश राज्यमन्त्री भइसकेका छन्।

नेकपा (एमाले) बाट पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छन् । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका एमाले नेता गणेशसिंह ठगुन्ना, बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारी सङ्घीय सरकारका पूर्वमन्त्री हुन्। कैलाली निर्वाचन क्षेत्र नं.४ मा पूर्वमन्त्री उपमहासचिव लेखराज भट्ट र कैलाली–३ का गौरीशङ्कर चौधरी पूर्वसङ्घीय मन्त्री समेत रहेका चुनावी दौडमा रहेको सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए।

एमालेबाटै अछाम क्षेत्र नं १ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन् । सचिव चन्दले डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवारका रूपमा मैदानमा उतारिएको जानकारी दिए ।

उनले भने, “एमाले सबैतिर चुनावी सभा/भेलाहरू व्यवस्थित गर्दै जाने तयारीमा छ ।”

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ ।
कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया