शनिबार, माघ १७, २०८२

सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति

मेरोन्यूज २०८२ माघ १७ गते १६:३२

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताए।

“परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि हो”, उपराष्ट्रपति यादवले भने, “सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो ।”

नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, “हामी सबै मिलेर सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन योगदान गरौँ ।” उनले राष्ट्रको आवाजलाई विश्वभर पु¥याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गरे ।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको जनाउँदै उपराष्ट्रपतिले समाजमा सत्यतथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी पत्रकारिताले गर्दै आएको बताए । “पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत सर्त हुन”, उनले भने, “कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो । त्यसैले पत्रकारिता सबै वर्ग, भाषा, संस्कृति र भौगोलिक क्षेत्रलाई समान अवसरसहित प्रतिनिधित्व गर्ने माध्यम बन्नुपर्छ ।”

अर्को प्रसङ्गमा उपराष्ट्रपति यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गरिनुपर्ने बताए । “यसका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ”, उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले राजनीतिक घटनाक्रम वा प्राकृतिक विपत्तिमा निष्पक्ष एवं आधिकारिक सूचनाको संवाहकका रुपमा नेपाल टेलिभिजनले भूमिका निर्वाह गर्दै आइरहेको बताए । “सत्यतथ्य सूचना आमजनतासमक्ष पु¥याउनु, जनचेतना अभिवृद्धि, संस्कृति संरक्षण र सामाजिक रुपान्तरण जस्ता योगदानमार्फत नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक दायित्वसँग जोड्ने कार्य नेपाल टेलिभिजनबाट हुँदै आएको छ”, सचिव बस्नेतले भने।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताका आधारमा सार्वजनिक प्रसारण संस्थाहरु सञ्चालनमा रहेको बताए । राष्ट्रिय प्रसारकका रुपमा जनतालाई केन्द्रबिन्दुमा राखेर सार्वजनिक प्रसारणलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय एकता, समृद्धि र विपद्मा नागरिक रक्षालाई प्रमुख आधार मानेर सार्वजनिक प्रसारण संस्थाका विषयवस्तु निर्माण हुँदै आएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल टेलिभिजनमा क्रियाशील विभिन्न पेसागत सङ्घसङ्गठनको प्रमुख तथा प्रतिनिधिले संस्थागत सुदृढीकरण, सार्वजनिक प्रसारण संस्थाका विषयवस्तु, कर्मचारीको वृत्तिविकासलगायत विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए ।

समारोहमा उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनमा ४० वर्ष, ३० वर्ष र २० वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घसेवापदक प्रदान गरे। कार्यक्रममा टेलिभिजनका उत्कृष्ट कर्मचारी, पत्रकार, विज्ञानपनदाता, कार्यक्रम निमार्तालगायतलाई सम्मान गरिएको थियो ।

   विसं २०४१ माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयसँगै प्रविधि र प्रवृत्तिमा आएका परिवर्तनअनुरुप परिस्कृत हुँदै अघि बढिरहेको छ । राज्य सञ्चालित टेलिभिजनबाट सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएको नेपाल टेलिभिजनले वार्षिकोत्सवका अवसरमा राज्यप्रतिको दायित्वसँगै नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहितालाई पूरा गर्दै अघि बढ्ने सङ्कल्प दोहो¥याएको छ ।

राष्ट्रिय प्रसारण संस्थाका रुपमा राज्य र नागरिकबीच सेतुको भूमिका निर्वाह गर्दै आइरहेको नेपाल टेलिभिजनले आफ्नो प्रसारणको चार दशकको इतिहासमा विश्वव्यापी पहुँचका पाँच वटा च्यानलसँगै यसैवर्षदेखि बेग्लै अङ्ग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ पनि सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिभिजनको देशमा भू–सतही प्रसारणमार्फत ५२ प्रतिशत भू–भाग र ७२ प्रतिशत जनतामा पहुँच पुगेको छ । सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले दूरदराजका नागरिकलाई जोड्दै विभिन्न जातजाति भाषाभाषी र समुदायको प्रतिनिधित्व र सरोकार सम्बोधन हुनेगरी टेलिभिजनले दैनिक सात भाषामा समाचार, २५ भाषाका साप्ताहिक कार्यक्रम र थप दुई भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आइरहेकोे जानकारी दिए ।

प्रतिक्रिया