महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महोत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।
कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदी–थुनुवा बताउँछन् । “राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको छ”, जिउभरि खटिरा देखाउँदै थुनुवाले भने, “कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन ।”
एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री स्वीकार गर्छन् ।
“हामी स्वास्थ्य समस्याबारे संवेदनशील नभएको होइन”, उनले भने, “कारागारमा पर्याप्त जनशक्ति छैन ।” यससँगै नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण रहेको क्षेत्रीले बताए । भित्रको सरसफाइमा कैदी–थुनुवाले पनि ध्यान दिन नसकेको उनको भनाइ छ । कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी–थुनुवामा देखिएको छ । छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी–थुनुवाले माग गरेका छन् । न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा कैदी–थुनुवाको सङ्ख्या बढ्दै गएको छ । विसं १९१३ मा निर्माण गरिएको कारागार भवन जीर्ण बनेको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया