सोमबार, पुष १४, २०८२

कहिले चल्छ त्रिपालमुनी थन्किएको रेल ?

रेल्वे कम्पनीका महाप्रबन्धक भन्छन्– सरकारले चाहेमा तत्काल सञ्चालन गर्न सकिन्छ

मेरोन्यूज २०७८ फागुन २५ गते १९:२७

काठमाडौं । जयनगर–कुर्था रेल्वे सेवा सञ्चालन गर्न भन्दै सरकारले भारतसँग दुई वटा रेल किनेर ल्यायो ।

दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको थियो ।

जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ ।

रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भएपनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।

तर नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झा भने सरकारले चाहेमा तत्काल सञ्चालन गर्ने सकिने बताउँछन् ।

महाप्रबन्धक झाले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनका लागि भाडा निर्धारण तथा कानून समेत बनाइ सकेको बताए ।

रेल्वे सेवा कहिले सञ्चालनमा आउँछ भनेर रेलबाट सेवा लिन सक्ने सेवाग्रहीहरु उत्साहित छन् । तर रेल सञ्चालन गर्ने तारतम्य भने मिलिरहेको छैन ।

रेल्वे कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनका लागि सरकारले सहयोग गर्नुपर्नेमा महाप्रबन्धक झा जोड दिन्छन् ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।

रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको बढेको छ । वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आम नागरिक प्रतिक्षारत छन् ।

प्रतिक्रिया