बुधबार, माघ १४, २०८२

पोखरामा कांग्रेसले नेकपा एससँग चुनावी तालमेल नगर्ने

मेरोन्यूज २०७९ वैशाख ५ गते १५:२५

काठमाडौँ । नेपाली कांग्रेस कास्कीले गठबन्धन दल नेकपा एकीकृत समाजवादीसँग सहकार्य नगर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा एससँग प्रतिस्पर्धा गर्ने भएको हो ।

कास्कीमा नेकपा एसले अस्वभाविक पदको माग राख्दै दाबी गरेको भन्दै कांग्रेसले सहकार्य गर्न नसक्ने बताएको हो । जिल्ला सचिवहरू देवेन्द्र रानाभाट र भानुभक्त ढकालले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग व्यापक छलफल हुँदा पनि अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरूको राय सुझावसमेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरूसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने तर नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’

यसैबीच कास्की कांग्रेसले अन्य गठबन्धनका दलहरूसँग भने सहकार्य गरेर अगाडि जाने जनाएको छ । साथै पोखरा महानगर पालिकाको मेयरका सम्बन्धमा संचार माध्यममा आएको हल्लाका पछाडि नलाग्नु सबैलाई अपिल गरेको छ ।

प्रतिक्रिया