सोमबार, चैत २३, २०८२

ओलीलाई भोट माग्ने नैतिक अधिकार नै छैन : गगन थापा

मेरोन्यूज २०७९ वैशाख २३ गते १२:१२


काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले त्यस्तो बताएका हुन् । ओलीले ५ वर्ष जनमत जनताले दिँदा पनि सरकार चलाउन नसकेको र संसद पटक पटक विघटन गरेकोले उनले जनतासँग फेरि मत माग्ने नैतिक आधार समेत गुमाईसकेको कांग्रेस महामन्त्री थापाको भनाई थियो ।

कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने पनि थापाको भनाई छ ।

महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताए ।

‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो । प्रदेश, स्थानीय, संघको चुनाव । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरुमा चुनाव लडिँदैछन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन, महामन्त्री थापाले भने- त्यसकारणले गर्दा यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ पनि हो र जनताको बीचमा पनि ५ वर्ष खेर फाल्नेले ५ वर्ष किन खेर फालेको भन्ने कुराको जवाफ जवाफ नदिकन, ५ वर्षको लागि माफी नमागीकन आज मञ्चमा उभिएर नेपाल कम्युनिष्ट पार्टीको नेता, नेपाल कम्युनिष्ट पार्टी भित्रका सबै घटकहरुले र मुलतः नेपाल कम्युनिष्ट पार्टी भित्रको नेकपा एमालेको आजको अध्यक्षले जसले जिम्मा लिनुभयो । ५ वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरीकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।’

थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला आएको पनि बताए ।

समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेसँग रहेको भन्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले खेर फाल्न नचाहेको बताए ।

‘समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ । हामीसँग योजना पनि छ । ५ वर्ष यही गरिनुपर्दथ्यो । ५ वर्ष खेर गयो । हामी अबको ५ वर्ष खेर फाल्न चाहँदैनौँ । २०७९ देखि २०८४ सालसम्मको ५ वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौँ । यो वाचा पूरा गर्न चाहन्छौँ । यो संकल्प र वाचा पूरा गरेर हामी गएको ५ वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौँ । हामीले समुन्नत नेपाल भन्ने संकल्प अघि सार्दै गर्दा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोईरालाले सार्नुभएको समुन्नत नेपालको बारेमा सोच्ने हो । त्यसमै टेकेर हामीले हाम्रो अगाडिको यात्रा तय गर्ने कोशिस गर्नेछौँ ।’ थापाले भने ।

प्रतिक्रिया