मंगलबार, माघ २०, २०८२

के देउवा सरकार परिवर्तनको खेल सम्भब छ ?

मेरोन्यूज २०७९ जेठ ११ गते २०:२६

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली मौन बसेपनि भित्र भित्रै गठबन्धन भत्काउनेदेखि सरकार परिवर्तनसम्मको खेलमा लागेका छन् । गठबन्धन दलमध्ये माओवादी उत्साही रहेका बेला ओलीले असन्तुष्ट रहेका मधेशवादीदलहरुलाई साथमा लिई गठबन्धन भत्काउने र सरकार परिवर्तनको खेलमा लागेका हुन् ।

स्थानीय तहको निर्वाचनपछि सत्तामा रहेका दलहरुमा असन्तुष्टि प्रकट भैरहे पनि माओवादी र नेकपा एकीकृत समाजवादीले तत्कालै सरकार छाड्ने अवस्था नभएको बेला एमालको नजरभने मधेशवादी दलहरुप्रति तेर्सिएको छ । त्यसकै परिणमस्वरुप बुधबार एमाले अध्यक्ष ओली र जसका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको हो । एमालेले जसपाको असन्तुष्टीलाई सम्बोधन गर्ने गरी सत्ता गठबन्धनबाट टुटाएर आफ्नो साथमा ल्याउन प्रयास सुरु गरीसकेको आजको भेटले पुष्टि गरेको छ । यही क्रममा जसपा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरेपछि यो प्रकृया थप अघि बढ्न सक्ने आँकलन गरीएको छ ।

जसपा नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनमध्येको कांग्रेसले खुलम खुला धोका दिएको निष्कर्ष निकालेपछि त्यसको फाइदा एमालेले लिन चाहेको छ । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको महशुस गरेका बेला बुधबार ओली र यादववीच भेटघाट भएको स्रोतको दावी छ । जसपाले जनकपुर, गोरखा मात्र होइन, विराटनगर लगायतका सबै ठाउँमा धोका पाएको छ ।

गोरखामा बाबुराम भट्टराईले पालुङटार नगरपालिकामा धोका पाएपछि एमालेतर्फ आकर्षित हुँदै आफ्नो सीट सुरक्षित गर्न खोजेका छन् । त्यहाँ माओवादीले कांग्रेससँगको सहकार्यमा नारायणकाजी श्रेष्ठलाई अघि बढाउने योजना बनाएको छ । जसपाले विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अध्यक्ष यादवका छोरा अमरेन्द्र यादव पराजित हुनुलाई गम्भीर रुपमा लिएका छ । यसरी जसपाका शिर्ष नेताहरु उपेन्द्र यादव कांग्रससँग र डा. बाबुराम भट्टराई माओवादीसँग चिढिनुले उनिहरुलाई एमालेतर्फ ढल्किने वातावरण समेत सृजना गरेको छ । यो कुरा बुझका ओलीले यसैमा खेल्ने दाउँ बढाएका छन् ।

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली मौन देखिएका छन् । सार्वजनिक रुपमा कुनै अभिव्यक्ति दिएका छैनन । तर एमालेका नेताहरुले भने वाम गठबन्धन लगायतका विषयमा आफ्ना धारणा दिइरहेका छन् । वाम गठबन्धन तत्काल सफल नभएपनि एमालेले मधेशवादी दलहरुको साथ लिएर अघि बढ्ने अर्को विकल्पबारे समेत तयारी अघि बढाएको छ ।

एमाले र मधेशवादी दलहरु मिलेर अघि बढेको अवस्थामा वर्तमान सरकारको जग हल्लिेन संभावना रहेको स्रोतको दावी छ । यतिबेला एमालेबाट विभाजित भएको नेकपा एस पनि असन्तुष्ट रहेको भएपनि तत्कालै एमालेसँग सहकार्य गर्ने वा पार्टी एकिकरण गर्ने अवस्थामा छैन । यस्तो अवस्थामा एमाले अध्यक्ष ओलीले मधेशवादी दलहरुको साथ खोजिरहेको छन ।

जसपाले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार लालकिशोर साहको पराजयलाई पनि गम्भीर रुपमा लिएको छ । मधेशको केन्द्रमा जसपाले धोका पाएपछि गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा पनि छलफल अघि बढिरहेको जसपाका नेताहरुले बताएका छन् । गठबन्धनप्रति रुष्ट रहेको संकेत पाएपछि अनुकुल वातावरण मिलाएर नेकपा एमालेका अध्यक्ष ओली र जसपाका अध्यक्ष यादवबीच भेटघाट भएको एमाले नेताहरुको भनाई छ । गठबन्धनबाट सबैभन्दा बढी नेपाली कांग्रेस र माओवादीलाई फाइदा पुगेको थियो । यस्तो बेलामा गठबन्धनबाट मधेशवादी दल जसपा विच्किएको छ ।

एमालेका नेताहरु एकै पटक तीन तिर खेल खलिरहेका छन् । एउटा टिम माओवादीसँग, अर्को टिम एकीकृत समाजवादीसँग र तेस्रो टिम जसपासँग सम्वादको प्रक्रियामा छ । तर संवादलाई उनिहरुले अत्यन्तै गोप्य राख्ने प्रयास गरेका छन् । तर एमालेको कुनै दलसँग सहमतिको सम्भावनाको सुईँको पाउने वित्तिकै प्रधानमन्त्री देउवाले संसदको निर्वाचन मिति घोषणा गर्ने सम्भावनालाई मध्यनजर गर्दै एमाले सहमति हुने अवस्था आए अत्यन्त गोप्य राख्ने तयारी गरेका छन् ।

एमाले उच्च स्रोतले भन्यो, यदी कुनै दलसँग त्यस्तो सहमति हुने अवस्था आए पहिले राष्ट्रप्रति कार्यालयमा समक्ष देउवा सरकार विरुद्ध बहुमत सांसदको हस्ताक्षर सहित प्रस्ताव दर्ता हुन्छ , त्यसपछि मात्रै त्यस्तो सहमति सार्वजनिक हुन्छ । अन्यथा पहिलेनै देउवाले निर्वाचन मिति घोषणा गरिदिने अवस्था आउने हामीले बुझेका छौँ ।

त्यही क्रममा एमालेले आउँदो निर्वाचनमा अहिलेदेखि रणनीति बदल्ने तहमा पुगेका बेला सबैभन्दा पहिला मधेशवादी दलसँगको सहकार्यलाई प्राथमितकामा राखेको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले २९४ स्थानमा विजयी हासिल गरेको थियो । दुई महानगरपालिका र ७ उपमहानगरपालिका सहित १२३ नगरपालिकाको प्रमुख जितेको थियो ।

त्यस्तै १७१ गाउँपालिकाको अध्यक्ष जितेर दुवै निकायमा पहिलो बनेको थियो । तर अहिले भने एमालेले मुस्किलले दुई सय चार स्थान जितेको छ । अघिल्लो पटक कांग्रेसले २ महानगरपालिका,२ उपमहानगरपालिका सहित १०५ नगरपालिकाको प्रमुख जितेको थियो । त्यस्तै कांग्रेसले १६१ गाउँपालिका अध्यक्ष जितेको थियो त्यतिबेला कांग्रेसले ७५३ स्थानीय तहमध्ये २७४ स्थानीय तहको प्रमुख जितेर दोस्रो भएको थियो ।

अहिले गठबन्धनको सहयोगले कांग्रेसले ३२६ स्थानमा जीत हासिल गरेको छ । यतिबेला मधेशमा एमालेले राम्रै प्रगति गरेको छ । यो प्रगतिलाई एमालेले जसपा र मधेवादी अन्य दलको सहयोग लिएर संघीय संसदमा सीट बढाउने महत्वाकांक्षा राखेको देखिन्छ ।

प्रतिक्रिया