आइतबार, चैत २९, २०८२

अमेरिकी सेनाका सेनापति फ्लिन नेपालमा आउँदै

मेरोन्यूज २०७९ जेठ १४ गते १४:५१

काठमाडौँ । अमेरिकी सेनाको इण्डो प्यासिफि क्षेत्रका सेनापति फ्लिन नेपाल भ्रमणमा आउने भएका छन् । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणमा उनी नेपाल आउन लागेको नेपाली सेना स्रोतले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल भ्रमणबाट फर्केपछि उनको नेपाल भ्रमण तय भएको नेपाली सेना स्रोतले जनाएको छ । तिब्बती शरणार्थीप्रति अमेरिकाले देखाएको ‘अतिरिक्त’ चासोप्रति नेपालमा ‘असन्तुष्टि’ उत्पन्न भएको बेला सेनापतिको भ्रमण तय भएको छ ।

तिब्बती शरणार्थीप्रति अमेरिकी चासोमा सरकारले नेपालको भूराजनीतिक अवस्थिति बुझिदिन आग्रह गरेको भए पनि अमेरिकाले भने त्यसलाई वेवास्था गरेको र नेपालको संसदमा समेत त्यसको विरोध भएको छ । गत साता तीन दिने नेपाल भ्रमणमा आएकी मानव अधिकार, लोकतन्त्र तथा तिब्बती मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया सरकारको औपचारिक अनुमतिविनै शरणार्थी शिविर पुगेकी थिइन ।

जियाले जावलाखेल, बौद्ध र स्वयम्भूस्थित शरणार्थी शिविरको अवलोकन गरेपछि सरकारको आलोचना भएको थियो । सरकारको यो आलोचना सेलाउन नपाउँदै अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका हुन् । नेपाली सेनाको विशेष निम्तो मान्न उनी नेपाल आउने भएका हुन् । अमेरिकी स्थल सेनाले एसिया प्यासिफिक क्षेत्रको पूरै कमाण्ड सम्हाल्ने सैनिक निकाय युएस आर्मी प्यासिफिक हो ।

नेपाली सेनाका सेनापति शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका स्रोतले जनाएको छ । यद्यपि, सेनाले यो भ्रमणलाई बाहिर ल्याएको छैन । अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक (युएसएआरपीएसी)का सेनापति अर्थात् चारतारे जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता नेपाल भ्रमणमा आउने नेपाली सेना स्रोतले जनाएको छ । जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठिक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन् ।

अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ । अमेरिकी सैनिक अधिकारी माउण्टेन वार फेरसम्बन्धी अभ्यासका लागि नेपालको मुस्ताङमा नेपाली सेनासँग संयुक्त अभ्यासमा बढी केन्द्रीत छन् भने विपत् व्यवस्थापनसम्बन्धी अभ्यास दुई सैनिक अधिकृतबीच हुँदै आएका छन् ।

यसैगरी विभिन्न तहका नेपाली सेनाका अधिकृतले अमेरिकाका विभिन्न सैनिक विश्वविद्यालयमा हरेक वर्ष अध्ययन गर्ने कोटा पाउने गर्दछन् । जर्नेल फ्लिनको स्वागतसँगै नेपाली सेनाका प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी पनि चलिरहेको छ ।

नेपाली सेनाका प्रधानसेनापति शर्मा केही समयपछि अमेरिका भ्रमणका जाने तयारीमा छन् । सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मा असार १२ देखि १८ गतेसम्म अमेरिका भ्रमणमा जाने भएका छन् ।

प्रतिक्रिया