मधेस प्रदेशमा झण्डै ५ लाख बालबालिकालाई कोभिडविरुद्ध खोप दिइदै

जनकपुर । मधेस प्रदेशबाट पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । प्रदेशका ८ जिल्लामध्ये पहिलो चरणमा ५ जिल्लामा खोप अभियान चलाउन लागिएको छ ।
यो उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप अभियान आगामी ९ देखि १५ असारसम्म चल्दै छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले शनिबार जनकपुरमा आयोजना गरेको कोभिडविरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रणसम्बन्धी कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बालबालिकालाई दिन लागिएको पेडियाट्रिक डोज खोपको तयारी बारेमा जानकारी दिएका थिए ।
उनले प्रदेशका ८ जिल्लामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको संख्या ८ लाख २४ हजार ७१६ जना रहेको भए पनि पहिलो चरणमा ५ जिल्लामा मात्रै खोप चल्ने भएकाले संख्या कम भएको स्पष्ट पारे । ‘हामीले आगामी ९ असारदेखि पहिलो चरणमा प्रदेशका ५ जिल्लामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर बायोन्टेकको पेडियाट्रिक डोज दिँदै छौँ, त्यसका लागि जनशक्तिलाई तालिम दिनेदेखि खोप केन्द्र तय गर्ने कार्य पूरा गरिसकेका छौँ,’ उनले भने ।
कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न प्रभावकारी बनेको खोपको चर्चा गरेका थिए । उनले कोभिडविरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको भन्दै यसमा आम अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको समयमा खोप केन्द्रमा पुर्याएर लगाउने कार्यमा सहभागी हुन आग्रह गरे । सो अवसरमा उनले प्रतिष्ठानले कोभिड महामारीका बेलामा दिएको सेवाका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. लवकुमार साहले कोभिड खोप र बालबालिकाको स्वास्थ्यको बारेमा जानकारी गराए । उनले खोप लगाइसकेपछि कसै कसैलाई सामान्य असर पनि देखिन सक्ने भन्दै त्यसमा आत्तिइहाल्न नहुने बताए । उनले खोप पूर्ण सुरक्षित रहेको भन्दै कसै कसैलाई देखिने सामान्य समस्यामा नआत्तिन सर्वसाधारणलाई अपिल गरे ।
कार्यक्रममा धनुषाका खोप फोकल पर्सन राजदेव यादवले खोपलाई व्यवस्थित ढंगले अघि बढाउन आफूले पहिलेदेखि योजना बनाई अघि बढेको बताए । उनले खोप लगाएपछि देखिने असर र त्यसमा स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सावधानीका विषयमा तालिम तथा आम सर्वसाधारणले बुझ्नु पर्ने कुरामा जानकारी दिइएको दाबी गरे ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड महामारी त्यसविरुद्धको खोप र स्वास्थ्य पत्रकारिताको बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले स्वास्थ्यका समाचार संवेदनशील हुने भन्दै त्यसमा सञ्चारकर्मीले अपनाउनु पर्ने सावधानीका बारेमा बताएका थिए । यस्तै, युनिसेफका प्रतिनिधि सुन्दर लामाले पेडियाट्रिक डोजका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, स्वास्थ्य पत्रकार मञ्च नेपालका मधेस प्रदेश संयोजक हदिश खुदारलगायतले खोप र पत्रकारिताको महत्वको बारेमा धारणा राखेका थिए । मधेस प्रदेशमा आगामी ९ असारदेखि सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइदै छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया