माधव नेपालको ध्यान वाम गठबन्धनतिर !

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनमा एक महानगर र एक उपमहानगरपालिकासहित २० स्थानीय तहको नेतृत्वमा स्थापित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनप्रति असन्तुष्टि जनाएको छ । जनमतमा आफ्नो हैसियत कति हो भन्ने प्रष्ट नभएको सो पार्टीले गठबन्धनले सोचेजति सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएको र वाम गठबन्धनमा आकर्षण देखाएको छ ।
आइतबार दिउँसो सञ्चाररकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई गठबन्धन दलहरुले छुट्टै सिट नछुट्याएको र छुट्याइएका सीटमा पनि इमानदारपूर्वक मत नदिएको बताएका थिए । ‘पहिलो कुरो भनेको यो स्थानीय निर्वाचनमा हामीले के पाठ सिक्यौँ, गठबन्धन नै गर्न हुँदैनथ्यो भन्ने पाठ हो कि ? शिक्षा हो कि ?’, उनले भने, ‘कि गठबन्धन गर्दा अहिलेको अवस्थाको विचार पुर्याउनुपर्ने हुन्थ्यो ? वास्तवमा कहीँ न कहीँ त्रुटी छ, यसलाई अब आउने दिनमा सुधार गर्नुपर्छ । गठबन्धन दलहरुले महशुस गरेका छन्,’ नेपालले सञ्चारकर्मीहरुसँग भने ।
उनले अरु पार्टी अनुभवी तथा आफूहरुको पार्टी नयाँ भएकाले पनि समस्या भएको बताउँदै आगामी निर्वाचनसम्म गठबन्धनमा सहभागी हुने दाबी गरे । ‘पहिलो सन्दर्भ हाम्रो के भएको थियो भने, अरु सबै पार्टीहरुले विगतको निर्वाचनमा भाग लिइसकेको अवस्था थियो । जनता समाजवादी पनि पुरानै थियो तर, एकीकृत समाजवादी पार्टी मात्रै नयाँ बनेको कारणले विगतको चुनावको प्रशंसाबाट उसको शक्तिको आकलन गर्न सक्ने अवस्था थिएन’, उनले भने, ‘त्यसो हुनाले विद्रोहमा साथ दिएका, एकीकृत समाजवादीको पक्षमा दृढतापूर्वक उभिएका, जनप्रतिनिधिको हकमा उहाँहरुलाई समर्थन गर्ने कुरामा साथ रहन्छ भन्ने कुरा सुन्नमा आएको थियो । मेरै कानले पनि सुनेको थियो । तपाईंहरुले पनि सुन्नु भएको होला । तर, जब गर्नुपर्ने काम गर्नुपर्ने बेलामा हामीलाई पूरा सहयोग भएन ।’
सञ्चारकर्मीहरुसँग उनले आफूलाई प्रस्तुत गर्दा एमालेतिरै ढल्केको महशुस पनि गराएका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी मिलेर पेलेको पीडा पनि उनमा झल्किएको थियो । त्यतिमात्र होइन दुई साता अघि आफ्नै निर्णयलाई लागु गराउन कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मिलेकोमा उनी निकै सशंकित देखिन्थे ।
पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउँदै नेता नेपालले मन्त्रीहरु हेरफेर गरिदिन पटक–पटक ताकेता गर्दै आएका छन् । तर, देउवाले कहिले माओवादीलाई देखाएर त कहिले अन्य कारण देखाएर एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्न मानेका छैनन् ।
आइतबारको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मन्त्री हेरफेरबारे भएको आलटाल र ढिलासुस्तीबारे असन्तुष्टि प्रकट गरे पनि मन्द मन्द स्वरमा अहिलेकै गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए । उनले त्यससँगै कोही कसैप्रति ‘रिजिक्ट’ हुनु छैन, संसद विघटनको विषयमा एउटा धारणा आए वाम गठबन्धन पनि अघि बढ्न सक्ला भने ।
आइतबार अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको नाम नलिइ संसद विघठन गलत भएको महशुस भएको छैन त्यो महशुस हुनुपर्यो नि भने । यसले संकेत के दिएको छ भने माधव नेपाल कांग्रेस र माओवादीको स्वाभावमा त्यति सन्तुष्ट छैनन । अबको निर्वाचनमा पनि माधव नेपाललाई पाखा लगाएर कांग्रेस र माओवादीले मात्रै गठबन्धन गर्नेमा शंका रहेको देखिन्छ ।
अध्यक्ष नेपालले संसद विघटन गलत थियो भन्ने स्वीकार गरेमा वाम गठबन्धन हुनसम्मको कुरा बताए । उनले केपी ओलीको नाम नलिइ संसद विघटनको विषयमा पुर्नविचार गर्ने वा गलत थियो भन्ने बारेमा गल्ती कमजोरी भयो भन्ने अवस्था आएमा वाम गठबन्धन हुनसक्ने समेत बताए । अध्यक्ष नेपालले विगतमा कोही कसैसँग शत्रुता नभएको समेत बताए ।
३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेलप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । स्वंय अध्यक्ष नेपालले हालै स्थायी कमिटीमा पेश गरेको चुनावी समीक्षासम्बन्धी दस्तावेजमा कांग्रेसले दम्भ र माओवादीले अहंकार देखाएको बताएका थिए । माधव नेपाल अध्यक्ष रहेको पार्टीभित्र झलनाथ खनाल फ्याक्टर पनि वाम गठबन्धन वा एमालेसँग मिलेर जानुपर्ने पक्षमा रहेको छ । खासगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एससीसी० संसदबाट पास भएपछि खनाल ‘फ्याक्टर’ वाम गठबन्धनको पक्षमा रहेको हो ।
स्थानीय तहको निर्वाचनमा खनालले आफ्नो जिल्ला इलाममा एमालेसँगै सहकार्य गरेर जिल्ला समन्वय समिति गठन गरेका थिए । त्यसले गर्दा पनि माधव नेपाल एमालेप्रति सकारात्मक बन्दै गएका हुन कि भन्ने अनुमान गर्न थालिएको छ ।
















प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया