शनिबार, फागुन ३०, २०८२

जनार्दन शर्मामाथि छानविन

फेला परेन अहिलेसम्म कुनै ‘क्लु’, जनार्दनसँगै अब बयान लिइँदैं

छानविन समितिको मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी

मेरोन्यूज २०७९ साउन २ गते ८:५०

काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई तिनै ब्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी प्रतिपक्षी एमालेले आरोप लगाएपछि २२ असारमा प्रतिनिधिसभाले छानविनका लागि विशेष समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ गरेको १० दिन भित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका थिए ।

समितिले गत मंगलबारबाट मात्रै कार्यप्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थमन्त्रालयका बिभिन्न तहका कर्मचारीहरुसँग छलफल गरेको छ ।

छानविन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन् । सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन् ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार, आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ भयो । आइतबार नै सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो ।

उनका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ भएको थियो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग छलफल गरिएको हो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो ।

राजश्व सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सकाएको हो । छानबिन गर्न गठित संसदीय विषेश समितिले अहिलेसम्म कुनै ‘क्लु’ भने फेला पार्न सकेको छैन। अहिलेसम्म बयान लिएका अर्थका कर्मचारीहरुले करको दर र दायरा हेरफेर गरेको कुरा पनि अस्वीकार गरेका छन् ।

‘सबैको एउटै भनाइ छ, करको दर हेरफेर भएको छ तर कसैले भनेर होइन,’ उनीहरूको बयान उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘चाहिने र आवश्यक कुराबाहेक तलमाथि गरिएको छैन।’

अब समितिले आन्तरिक छलफल गर्ने तयारी गरेको छ । यसका लागि सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । समिति सदस्यहरुका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई नै बोलाएर छलफल गर्ने कार्यसूची पनि छ ।

प्रतिक्रिया