बिहीबार, माघ १५, २०८२

शिवपुजनको हत्यामा संलग्न सार्वजनिक

मेरोन्यूज २०७९ पुष ११ गते १९:०४

काठमाडौँ । गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ ।

भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय शिवपूजन यादवलाई छातीमा गोली हानी हत्या गर्ने मुख्य अभियुक्त भारत विहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना १ निवासी ३८ वर्षीय प्रमोद राम रहेको प्रहरी उपरीक्षक होमीन्द्र बोगटीले जानकारी दिए ।

राम १० दिनदेखि नेपालमा बस्दै आएका थिए । उपरीक्षक बोगटीका अनुसार मृतक यादवलाई निज रामले नै फोन गरी खाजा खान बोलाएको थियो भने खाजा पसलबाट नै सुटरलाई फोन गरी बोलाई हान्न लगाएको थियो ।

पुस ८ गते शुक्रबार बेलुका साढे ५ बजे जिल्ला बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नं नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित दुईजना व्यक्तिहरूले शिवपूजनलाई बोलाई छातीमा एक राउन्ड गोली हानी फरार भएको थियो ।

यादवको परवानीपुर गाउँपालिका–५ स्थित रहेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो । यादवको मृत्यु भयो कि भएन भनेर अस्पतालमा नै पुगी मुख्य अभियुक्त रामले हत्या गर्ने गिरोहलाई सूचना प्रवाह गरेको थियो ।

राममाथि शङ्का लागेर निजसँग कुराकानी गर्दै जाँदा त्यसको मोबाइलमा दुई जनाको फोन भएको कुरा भेटिएको थियो । त्यसपछि झनै शङ्का बढ्यो अनि त्यसलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा एक दिनमा मात्र, सुटरसँग ६२ चोटि फोन गरेको रेकर्ड भेटिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिक्रिया