सांसद कोइरी, उद्योगपति मुरारकासहित ९ जनाको विभूषण रद्द

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदान गर्ने निर्णय गरेका ६ जनाको विभूषण रद्द गर्ने निर्णय वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको विभूषण शाखाको सिफारिसमा उनीहरूको विभूषण रद्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
गृह मन्त्रालयको विभूषण हेर्ने आन्तरिक व्यवस्थापन महाशाखाका अनुसार सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरू डा.हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ, नविन पौडेल नेपाल प्रहरीका प्रकाश कठायत, नेपाली सेनाकी आसिना कार्की को विभूषण रद्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
उद्योगी मुरारकामाथि खानी दोहनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७८ माघ १२ गते ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका मुरारकाविरुद्ध अख्तियारले दायर गरेको मुद्दा किनारा नलाग्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिएपछि आलोचना भएको थियो । मुरारका खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक हुन् ।
सांसद कोइरीले २०७२ भदौ २५ मा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्या अभियोगका उच्च अदालत जनकपुरले पुर्पक्षमा थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ । कोइरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवी’ का रूपमा ‘प्रबल जनसेवाश्री’ दिने घोषणा गर्दावित्तिकै सरोकारवालाहरूले आपत्ति जनाएका थिए । सात वर्षअघि मधेसमा चर्केको सरकारविरोधी प्रदर्शनमा असई विक आन्दोलनकारीबाट मारिएका थिए । महतोलाई योजनाकारका रूपमा प्रहरीले किटान गरेको छ । घटनापछि फरार उनी वारेसबाट मनोनयन दर्ता गराएर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट विजयी भएका छन् ।
संविधान दिवसको दिन पारेर सरकारले गत असोज ३ गते ९ सय ९८ जनालाई विभिन्न किसिमका विभूषण घोषणा गरेको थियो ।
विभूषण रद्द भएका व्यापारी गोयललाई प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । उनले अघिल्लो वर्ष जनसेवाश्री पदक पाइसकेकोले उनी यसवर्ष अर्को पदक पाउने योग्यताभित्र नपरेका कारण रद्द गरिएको हो । एउटा पदक पाएको दुइवर्ष पुरा नुहँदै अर्को पदक दिन नमिल्ने कानुनी व्यवस्था छ ।
विभूषण रद्द भएका भिमोदय नमूना माबी चितवनका शिक्षक डा.हरिप्रसाद कँडेल भ्रष्टाचार आरोपमा अख्तियार अनुसन्धानको दायरामा छन् । उनलाई प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । त्यस्तै जननमुना माबी सुर्खेतको शिक्षक यामबहादुर श्रेष्ठ पनि भ्रष्टाचार आरोपमा अनुसन्धानको दायरामा छन् । उनलाई पनि प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो ।
प्रवल जनसेवाश्री पाउने सूचीमा रहेका कर्मचारी शेरबहादुर श्रेष्ठको पनि रद्द गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यलय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीका कठायत र नेपाली सेनाकी कार्कीको पनि पहिले विभूषण लिएको र पुनः विभूषण लिने समय नपुगेका कारण रद्द गरिएको गृह मन्त्रालयको विभूषण शाखाले जानकारी दिएको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया