शनिबार, माघ १७, २०८२

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

मेरोन्यूज २०७९ फागुन ५ गते १९:४४

काठमाडौँ । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।

सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन् ।

महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले समेत आफ्नो एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।

यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्ण रूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।

दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्सलगायतको सेवाका लागि समेत टोली खटाइएको प्रहरीले जनाएको छ । भोलि शनिबार हुने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ ।

यस वर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रतिक्रिया