शनिबार, माघ १७, २०८२

प्रहरीमा ५ एआइजीपीको दरबन्दी खाली, बढुवाको तयारीमा गृह

मेरोन्यूज २०७९ फागुन ८ गते १३:५३

काठमाडौँ । नेपाल प्रहरीको दोस्रो वरियताको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) पदका ५ दरबन्दी खाली छ । यही फागुन ५ गते पूजा सिंह अनिवार्य अवकाशमा गएपछि एआइजीपीको ५ दरबन्दी खाली भएको हो ।

कात्तिक २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजीपी रवीन्द्र धानुकले उमेर हदले, कात्तिक १४ गते प्रशासन विभागका प्रमुख एआइजीपी अरुणकुमार बी.सी अवकाश, ५६ वर्षे उमेर हदका कारण २०७९ साउन २० गते एआईजी विश्वराज पोखरेल र भदौ २३ गते एआइजीपी मुकुन्दराज आचार्यले अवकाश पाएपछि ५ एआइजीपी पद खाली भएको हो ।

२०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका पोखरेल र आचार्यले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

आईजीद्वय पोखरेल र आचार्यले अवकाश पाएपछि प्रहरीको प्रदेश समन्वय विभाग र कार्य विभागको दरबन्दी रिक्त छ ।

रिक्त एआइजीपीमा बढुवा हुन दुई ब्याचका डिआइजीपीहरू कम्मर कसेर लागिरहेका छन् । अहिले एक नम्बरमा एआइजीपी भएमा छोटो समयमै प्रहरी महानिरीक्षकमा पुग्नका लागि दाबेदार बनिने भएकाले डिआइजीपीहरू कम्मर कसेर लागेका छन् ।

अहिले एआइजीपी बन्न तीन डिआइजीपी सिनियर छन् । तर उनीहरू वर्तमान प्रहरी महानिरीक्षक रविन्द्रप्रताप सिंहसँगै घर जाने भएकाले नबनाउने तयारी सरकारको देखिन्छ । गृह स्रोत भन्छ, ‘छोटो समयका लागि बढुवा सिफारिस नगर्ने भन्ने छ ।’

आइजीपी सिंह आगामी चैत ११ गते ३० वर्षे उमेर हदका कारण घर जाँदैछन् । उनीसँगैका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ सिनियर डिआइजीहरू हुन् । उनीहरू २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

छोटो समयका लागि बढुवा नगर्ने भएपछि उनीहरूडीआईजीबाटै घर जाने सम्भावना देखिएको छ ।

अहिले एआइजीपीबा बढुवा भएपछि चैत १२ गते बन्ने आइजीपीमा दाबेदार हुने भएकाले २०७९ असारमा बढुवा भएका डिआइजीहरू बढुवामा पर्न कम्मर कसेर लागेका छन् ।

असारमा १७ जना डिआइजीपीमा बढुवा हुँदा एक नम्बरदेखि क्रमशः बसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली बढुवा भएका थिए । उनीहरू मुख्य दाबेदार हुन बढुवामा । तर उनीहरूसँगै बढुवाका लागि किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि प्रतिस्पर्धामा छन् ।

गृहमन्त्री नभएकाले प्रधानमन्त्रीले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैले सिनियारिटीका आधारमा बढुवा गर्छन् या छानेर भन्ने अझै निश्चित छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यसअघि प्रहरी प्रमुख बनाउँदा विवादमा आएका थिए । त्यसैले अहिलेको बढुवा विवादरहित बनाउने गरी तयारी गर्न गृहलाई निर्देशन दिएको स्रोतहरू बताउँछन् ।

प्रतिक्रिया