सोमबार, जेठ २६, २०८२

२०३० सम्ममा ४० प्रतिशत घरायसी काम रोबोटले गर्ने एआई विज्ञकाे दाबी

मेरोन्यूज २०७९ फागुन १३ गते १३:५९

प्रविधिले संसारलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्सका कारण यो परिवर्तनको गति अझ बढ्दै गइरहेको छ । यो एक दशक भित्र संसारमा हामीले कल्पना पनि नगरेको परिवर्तन देखिने विज्ञ बताउँछन् ।

बेलायत र जापानका ६५ जना एआई विशेषज्ञसँग अन्तर्वार्ता लिएर तयार पारिएको प्रतिवेदनमा यो दशकको अन्त्यसम्ममा पसलहरूमा मानिसको आवश्यकता नपर्ने उल्लेख गरिएको छ ।

एआई मार्फत, रोबोटले शप-महल सुरक्षादेखि बिलिङ, सरसफाइदेखि भण्डारणसम्म सबै काम गर्नेछ। अधिकांश घरायसी काम स्वचालनमा हुनेछन्। घरायसी कामको ३९ प्रतिशत जस्तै सरसफाइ, भाँडाकुँडा धुने, खाना पकाउने जस्ता काम रोबोटले गर्ने विज्ञहरू बताउँछन् । यद्यपि, बालबालिका र वृद्धवृद्धाहरूको हेरचाहमा, एआईले यस दशकको अन्त्यसम्म धेरै मद्दत गर्ने अपेक्षा गरिएको छैन।

अक्सफोर्ड युनिभर्सिटीकी एआई एण्ड सोसाइटीकी प्रोफेसर एकटेरिना हेर्टोग भन्छिन्, ‘स्मार्ट टेक्नोलोजीको यो युगमा सबैभन्दा ठूलो प्रश्न गोपनीयतामा खडा भएको छ। एलेक्सा जस्ता स्वचालन उपकरणहरूले सबै कुरा रेकर्ड गर्दछ। भनाइदेखि व्यवहारसम्म सबै कुरामा एक किसिमको निगरानी भएको छ । एआई टेक्नोलोजी स्मार्ट हुँदै जाँदा, हाम्रो गोपनीयता जोखिममा छ। यस दशकको अन्त्यसम्ममा, मानिसहरूलाई आफ्नो गोपनीयता कायम राख्न गाह्रो हुनेछ।’

उनी भन्छिन्, ‘यो गोपनीयतामाथिको यस्तो हमला हो, जसका लागि समाज तयार छैन । तर यसले समाजमा महिला र पुरुषबीच समानताको स्तर बढाउने हार्टोग पनि बताउँछन् ।’ उनी जापानको उदाहरण दिन्छिन्, जहाँ महिलाहरूले पुरुषको तुलनामा पाँच गुणा बढी बेतलबी घरको काम गर्छन्। जसका कारण उनीहरुसँग फुर्सदको समय हुँदैन ।

Advertisement
machhapuchare

अर्को रिपोर्टमा भनिएको छ- ‘घरायसी कामका कारण महिलाले पुरूषको बराबरीमा प्रगति गर्न सकेका छैनन्। स्मार्ट घरहरूमा, महिलाहरूले पुरुषहरू जत्तिकै खाली समय पाउनेछन्, जसले समाजमा समानता ल्याउनेछ।’

हार्टोग भन्छिन्, ‘एआई यति प्रभावकारी भए पनि यो सबैको पहुँचमा हुने छैन । एआई प्रविधिहरू किफायती हुन धेरै समय लाग्नेछ। यो दशकको अन्त्यसम्ममा यो यति महँगो हुनेछ कि विश्वका थोरै धनी व्यक्तिले मात्रै यसको प्रयोग गर्न सक्नेछन् । धेरैजसो स्मार्ट प्रविधिहरू सर्वसाधारणको पहुँचभन्दा बाहिर हुनेछन्।

यो प्रतिवेदन अनुसन्धान जर्नल प्लस वनमा प्रकाशित भएको छ ।

प्रतिक्रिया