बुधबार, चैत २५, २०८२

अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीको धर्ना

मेरोन्यूज २०८० असार २९ गते १२:४९

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने पनि बताए ।

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका कामको भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमीक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको उनले बताए । उनले निर्माण व्यवसायीहरुसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिन भन्न सरकारले नपाइने बताए ।

लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको उनको आरोप छ ।

विरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए । उनले भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने माग गरे ।

व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, निर्माण कार्यको म्याद थप गर, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

प्रतिक्रिया