बुधबार, माघ २८, २०८२

एमाले गण्डकीको नेतृत्वमा पुग्न नवराज र मायानाथबीच बिहीबार प्रतिष्पर्धा

मेरोन्यूज २०८० असोज १७ गते १९:५३

पोखरा । सोमबारदेखि पोखरामा जारी एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको चुनावी प्रक्रिया बिहीबार हुने भएको छ ।

बुधबार ढिलो गरी सुरु भएको मनोनयन प्रक्रिया नै साँझसम्म चलेपछि निर्वाचन समितिले बाँकी कार्यक्रम पुनःसंशोधन गरी बिहीबारका लागि मतदानको कार्यक्रम राखेको हो । निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समयावधि नै बिहीबार बिहानसम्मको लागि राखेको छ ।

उम्मेदवारी फिर्तापछि सम्भवतः दिउसोमात्र चुनावी प्रक्रिया सुरु हुने निर्वाचन समितिका समितिका सदस्यहरूले बताएका छन् । विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्नेछैन। चुनावमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्यानललाई निषेध गर्ने भनिए पनि उनीहरु दुवै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ।

अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी उभिएका छन्। अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको पनि आशीर्वाद रहेको नेताहरू बताउँछन् ।

म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्को उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।

लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दिएका छन्।

लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीरबहादुर बिकले उम्मेदवारी दिएका छन्।

अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया