सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

काठमाडौँ । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ ।
नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराईरमधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर–दुल्लीकुना खण्ड र घाटपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् ।
बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक र दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाई कूल दुई सय ७४ दशमलव ५३७ किलोमिटर रहेको छ ।
रानी, विराटनगरदेखि किमाथाङ्कासम्मको तीन सय ९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत (च्याम्ताङ–घोङघप्पा खण्ड) १० दशमवल ५१ किमी सडक निर्माण कार्य भइरहेको छ । विसं २०७७ माघ २४ गतेबाट निर्माण कार्य प्रारम्भ एको उक्त सडक नौ मिटर फराकिलो हुनेछ ।
गत आवसम्म उक्त सडकको प्रगति ६ दशमवल ५ किमी रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३ दशमवल ५ किमी ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डको ११ दशमलव ५ किमी क्षेत्रमा सेनाले काम गरिरहेको छ ।
लालिबगर–दुल्लिकुन्ना खण्डमा गत आवसम्म छ किमी र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा तीन दशमलव पाँच किमी ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर–दुल्लिकुन्ना खण्डमा दुई दशमलव पाँच नयाँ ट्र्याक निर्माण र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा एक दशमलव ५ किमी ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ । बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई छ सय ८२ किमी छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक (एक सय ५४ किमी)मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ । सो आयोजनाको गत आवसम्म ३५ दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आवमा दुई दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण र तीन किमी स्तरोन्नतिको लक्ष्य राखिएको छ ।
यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) सडक आयोजनाको कूल चार सय २५ किमीमध्ये सेनाले ७९ किमी सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ । गत आवसम्म १० दशमलव ४ किमी सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ तीन किमी र दुई किमी स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ ।
कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । ती सडकको कूल लम्बाई एक हजार चार सय ११ किलोमिटर रहेको छ । सेनाले सुर्खेत–जुम्ला ८८ किमी, बेनी–जोमसोम ९१ किमी, छिन्चु–जाजरकोट ४५ किमी, बेँसीसहर–चामे ६५ किमी, नाङ्मा–गमगढी ९४ किमी, द्रुतमार्गको ‘ट्र्याक’ निर्माण ८० किमी, मैलुङ–स्याफ्रुबेँसी १७ किमी, जाजरकोट– डोल्पा (दुनै) एक सय १७ दशमलव ७ किमी, कालीगण्डकी कोरिडोर (गुल्मी–बागलुङ खण्ड० ७५ दशमलव ४ किमी र कर्णाली कोरिडोर (खुलालु–लैफु–सलिसल्ला खण्ड) एक सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
यसबीचमा सेनाले प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा हालसम्म ३७ वटा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्न सहयोग पुर्याएको छ । संविधानमा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको अतरिक्त विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा सते परिचालन गर्न सकिने व्यवस्था छ ।
राष्ट्रिय सुरक्षा नीति २०७५ मा भौतिक पूर्वाधारमा जोड दिने एवं राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन एकीकृत कार्ययोजना, विकास र समृद्धिका कार्यमा नेपाली सेना संलग्न हुने उल्लेख छ । नेपाली सेना राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण कार्यमा लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको छ ।
















Pakistan reiterates call for full implementation of UNSC Resolution 47
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया