शुक्रबार, चैत २७, २०८२

‘एकताका लागि दौड’ प्रतियोगितामा सम्पन्न

मेरोन्यूज २०८० फागुन १२ गते १४:५१

कर्णाली । ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् ।

एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय हुनुभएको छ । एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय स्थान हात पारेका छन्।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रतियोगिताका प्रथम कुँवरलाई रु ३५ हजार, योगीलाई रु २५ हजार र गुरुङलाई रु १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । त्यसैगरी, पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम, जुम्लाका द्वितीय र तृतीय स्थान जुम्लाका समिता बुढा राज्यलक्ष्मी रावलले प्राप्त गरेकी छन्। प्रथम, द्वितीय र तृतीय हुने रावत, बुढा र रावललाई क्रमशः रु २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन विक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अजय, दीपेन्द्र र सुजनलाई रु दश, पाँच र तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गरेकी छन् । उक्त दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुढा, कार्की र खनाललाई रु दश, पाँच र तीन हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया