आइतबार, चैत २२, २०८२

सुदूरपश्चिममा सरकारको दाबी गर्ने समय आज सकिँदै

मेरोन्यूज २०८१ वैशाख २ गते ९:५९

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई १० दिनको म्याद दिएर आज अपरान्ह्र ५ बजेसम्म समय दिएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

अहिलेसम्मको अवस्थामा प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारको दाबि गर्ने बताइएको छ । तर नाउपा भित्रको आन्तरिक विवादले अहिलेपनि सरकार दाबि बारे स्पष्ट भएको छैन ।

नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले आफु पक्षका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीको रुपमा अगाडी सार्ने तयारी गरेकी छिन्।

अध्यक्ष श्रेष्ठले शुक्रबार संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्रीसमेत रहेका घनश्याम चौधरीलाई उनले पार्टी विधानको प्रावधान उल्लेख गर्दै तीन महिनाका लागि निलम्बन गरिएको पत्र सभामुखलाई दिएकी छन् । त्यसअघि अध्यक्ष श्रेष्ठले उनै घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त गरेको पत्र सभामुखलाई पठाएकी थिइन् ।

त्यसबेला कैलाश चौधरीलाई दलको नेता तोकेको पत्र सभामुखलाई पठाएकी थिइन् । शुक्रबार घनश्याम चौधरीलाई सांसद पदबाटै निलम्बन गरिएको पत्र पठाइएपछि परिस्थिति थप जटिल बनेको छ । अध्यक्ष श्रेष्ठले यसअघि आफ्नै पार्टीकी सांसद इन्दिरा गिरीलाई सांसद पदबाट हटाइसकेकी छन् ।

अध्यक्ष श्रेष्ठ आफ्नो विपक्षमा लाग्ने नेता तथा सांसदहरुप्रति निर्मम बन्दै गएको भएपनि सांसदहरु घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी, खुसीराम डगौरा थारु भने संरक्षक रेशम चौधरीकै पक्षमा रहेका छन् ।

घनश्याम चौधरी निलम्बन भएको अवस्थामा पनि कूल पाँच जना सांसद रहेकामा तीन जना भने शनिबार मध्यान्ह्रसम्म रेशम पक्षमै अडिग देखिएको नेता कार्यकर्ताहरु बताउँछन् । धारा १६८ (२) अनुसार मुख्यमन्त्री दाबी पेस गर्ने सांसदले समर्थन गर्ने सम्बन्धित दलको संसदीय दलको नेताको हस्ताक्षरका आधारमा पनि मुख्यमन्त्री नियुक्त गर्नसक्ने अभ्यास रहेको छ ।

अहिले नवगठित सत्ता समीकरणमा एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ५ (घनश्याम चौधरी निलम्बन भएपछि), एकीकृत समाजवादीका ४ सांसद छन्। सरकार गठनका लागि २७ सांसदको आवश्यकता छ । 

अहिले आह्वान भएको १६८ (२) अनुसार सरकार गठन हुन नसकेमा पुनः १६८ (३) बमोजिम प्रदेश सरकार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने छ ।

प्रतिक्रिया