आइतबार, चैत २९, २०८२

बाँदरले दुःख दिएपछि कृषियोग्य जमिनमा घाँसखेती

मेरोन्यूज २०८१ असार १३ गते २०:४९

गलकोट। जिल्लाको जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्लाका ६१ वर्षका रघुनाथ पौडेलले गत वर्षमात्रै १० रोपनी खेतीयोग्य जग्गामा बहुवर्षे घाँसखेती थाले।

Advertisement
nepal life insurencenepal life insurence

बाँदरका कारण अन्नबाली हुन छाडेपछि यहाँ तीव्र बसाइँसराइ छ । बसाइँसराइका कारण फुर्केसल्लाका अधिकांश गाउँका खेतीयोग्य जमिन बाँझिएका छन्। ती बाँझिएका जग्गामा पौडेलले घाँसखेती गरेर पशुपालन गर्दै आएका छन्। गाउँलेले छोडेको १० रोपनी जग्गामा आफूले घाँसखेती गरिरहेको उनको भनाइ छ।

‘फुर्केसल्लाका अधिकांश घर खाली हुन थालेका छन्, बाँदरले सताएपछि अधिकांश जग्गा बाँझो छ, अन्नबाली गर्न छाडेपछि बाँझो जग्गा सदुपयोग गर्ने उत्तम विकल्प घाँसखेती रहेछ घाँसखेतीबाट पशुपालन गर्दा अन्नबालीभन्दा बढी नाफा हुने रहेछ’, पौडेलले भने। उन्नत जातको बहुवर्षे घाँसखेतीका लागि पशु विज्ञ केन्द्रलेसमेत प्रोत्साहन गर्दै आएको छ। उनले यस वर्ष मात्रै रु ३० हजार अनुदान पाएको सुनाए।

घाँसमा आधारित पशुपालनले दूधको उत्पादन लागत घटाएको उनको भनाइ छ। हाल उनले भैँसी र गाईपालनबाट दैनिक ४० लिटर दूध बजार पठाउँदै आएका छन्। गाउँमा बाँदर आतंक बढेपछि यहाँका किसानहरु घाँसखेतीतर्फ आकर्षित भएका हुन्। घाँसमा आधारित पशुपालनले आम्दानी बढाउने भन्दै उनले दूध बिक्रीबाट मात्रै मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए।

जैमिनी नगरपालिका–१ टुनीबोटका रुद्रनाथ शर्माले पनि पशुपालन गर्दै आएका छन्। कूल ४० घर रहेका टुनिबोटका अधिकांश स्थानीय बसाइँ सरेर चितवन र सदरमुकाम पुगेपछि उनीहरुको बाँझो जग्गामा घाँसखेती गरिरहेका छन्।

टुनिबोटमा चार वर्षअघि आएको पहिरोले यहाँका छ घरमा क्षति पुगेको थियो। दुई जनाको ज्यानसमेत गयो। त्यसपछि केहीले बसाइँ सरेर चितवन झरे। बसाइँसराइ गर्ने अर्को मुख्य कारण बाँदर आतंक पनि हो।

बाँदरले सताएपछि यहाँका किसानले अन्नबाली लगाउनै छोडेका छन्। बाँदरले सताउन थालेपछि धमाधम घाँसखेती गरेर पशुपालन गर्न थालिएको उनले बताए।

बसाइँ सरेर चितवन गएका स्थानीय कीर्तिनाथ पौडेलको १५ रोपनी जग्गा भाडामा लिएर शर्माले घाँसखेती र पशुपालन गरेका छन्। उनले दैनिक ४० लिटर दूध सहकारीमार्फत बजारीकरण गर्दै आएका छन्।

‘अन्नबाली व्यावसायिक थिएन, बाँदरका कारण विकल्पमा घाँसखेती देखियो, घाँसमा आधारित पशुपालन व्यवसायबाट मुनाफा राम्रो आएपछि अन्नकोभन्दा फाइदा देखियो, बाँदरको समस्या टर्‍यो’, शर्माले भने, ‘नेपियर र कान्लामा सिबोसिटिया र मोलाटो जातको घाँस लगाएको छु, घाँसखेती गरेपछि बाँदर के खान आउने भो र।’

उनले वार्षिक रु २५ हजार भाडा तिरेर घाँसखेती गरिरहेका छन्। घाँसखेती र दूध बिक्रीबाट उनले वार्षिक रु १० लाखसम्म कमाइ गरिरहेका छन्।

प्रतिक्रिया