सुपा देउरालीको जीर्ण मूर्ति त्रिवेणीमा विसर्जन

अर्घाखाँची । प्रसिद्ध सुपा देउराली मन्दिरको पुरानो जीर्ण मूर्ति नवलपरासीको त्रिवेणीधाममा वैदिक विधिपूर्वक विसर्जन गरिएको छ ।
विसं २०६४ मा नयाँ मन्दिर निर्माणपछि नयाँ मूर्ति राखेर प्राणप्रतिष्ठा गरी दैनिक पूजा गरिँदै आएपछि पुरानो मूर्ति सचिवालयमा राखिएको थियो । टुटेर विखण्डन भएको उक्त मूर्तिको धार्मिक मान्यता र वैदिक परम्पराअनुसार विसर्जन गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए।
सुपा मन्दिरमा २०४० सालमा सन्धिखर्कका स्थानीय समाजसेवी पविलाल पाण्डेले उक्त मूर्ति मन्दिरमा चढाएका थिए । विसं २०६४ मा नरनारायण बाबाको पहलमा सुपा देउराली मन्दिर आकर्षक शैलीमा नयाँ बनाइएपछि मूर्ति पनि नयाँ राखेर पूजाआजा भइरहेको सन्धिखर्क–७ का अध्यक्ष चुराबहादुर केसीले बताए ।
पूजाआजा हुन छाडेको उक्त मूर्ति धार्मिक गुरुहरूको सल्लाह र मान्यताअनुसार विसर्जन गरिएको हिन्दू धर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनालले बताए ।
मूर्ति विसर्जनमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क–७ का अध्यक्ष चुराबहादुर केसी, शीतगङ्गा नगरपालिका–२ का वडाध्यक्ष रामबहादुर गोर्खा–३ का अध्यक्ष चिन्तराज अधिकारी, हिन्दू धर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनाल, जिल्ला अध्यक्ष नारायण खड्का, सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीलगायत पदाधिकारी, पूर्वअध्यक्ष प्रितम थापालगायत स्थानीयको सहभागिता थियो ।
पछिल्लो समय धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो बढेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको भीड बढेको सुपा देउराली मन्दिर संरक्षण समितिका कोषाध्यक्ष कृष्णलाल पुरीले बताए ।
सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाध सुपामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ । मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा छ । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष केसीले बताए । तराईका विभिन्न जिल्लाबाट गर्मी छल्न चिसो हावापानी भएको मन्दिर क्षेत्र र नरपानीमा भक्तजन बढेका हुन् ।
मन्दिर निर्माण गर्दा प्राचीन निर्माण सामग्री प्रयोग गरिएको छ । भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन् । शक्तिपीठका रूपमा परिचित सुपा देउराली वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको सन्धिखर्क–८ का अध्यक्ष चुराबहादुर केसीले बताए।
वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । जे भाकल गर्यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला पहाडको खोचमा प्राचीन शैलीमा मन्दिर निर्माण गरिएको छ ।
मन्दिर क्षेत्रमा निर्माण भएका भवनको स्वरूप एकै खालका कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पुर्याउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।
मन्दिरमा आउने धार्मिक दर्शनार्थीको सुविधाका लागि धर्मशाला पनि निर्माण भइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । पार्किङ निर्माणका लागि पहल भइरहेको उनको भनाइ छ ।
मन्दिरमा सङ्कलन हुने भेटीले जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकको तलब प्रदान गर्दै आएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष कृष्णलाल पुरीले जानकारी दिए । मन्दिरमा सङ्कलन हुने भेटीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय, शीतगङ्गा नगरपालिका–२ सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेको समितिका सचिव हरि खनालले बताए । भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माणलगायत काममा खर्च भइरहेको छ ।













नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया